Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

आईजीपीलाई ओलीको प्रश्न : ‘जागिर खाने सिपाहीले प्रचण्ड– देउवालाई थुन्दिन्छु रे, होसमा हो कि बेहोसमा बोलेको ?

आईजीपीलाई ओलीको प्रश्न : ‘जागिर खाने सिपाहीले प्रचण्ड– देउवालाई थुन्दिन्छु रे, होसमा हो कि बेहोसमा बोलेको ?
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले आफू, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आईजीपी केसीको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै यस्तो कुरा ‘होसमा बोलेको हो कि बेहोसीमा’ भन्दै टिप्पणी गरे। उनले पूर्वप्रधानमन्त्रीहरूलाई थुन्ने भन्दै दिएको अभिव्यक्तिले त्रासको वातावरण सिर्जना गर्ने जिकिर गरे ।

ओलीले देशमा नागरिकले निर्भय वातावरणमा बाँच्न पाउनुपर्ने भन्दै आफूहरू त्यही दिशामा अघि बढिरहेको अवस्थामा अहिले आतंकपूर्ण र त्रासमय वातावरण सिर्जना हुन थालेको बताए । ‘सर्वे सन्तु निरामया, कोही पनि डरत्रासमा बस्न नपर्ने एउटा निर्भय वातावरणमा बाँच्न पाउनुपर्ने। त्यो दिशातर्फ हामी अगाडि बढ्दै थियौँ, त्यो पनि रोकिएको छ र आज एउटा आतंकपूर्ण, त्रासमय वातावरण बनेको छ,’ उनले भने, ‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु बोलेको सुन्छु म। आईजीपीको बोलाइ त्यस्तो हुन्छ ?’

ओलीले आफूहरू राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको स्मरण गराउँदै प्रहरी अधिकारीले आफूहरूलाई थुन्ने भन्दै दिएको अभिव्यक्तिलाई ठट्टाको विषय नभएको बताए ।‘हामी राणा शासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ। निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ।’ अध्यक्ष ओलीले कसैले गलत काम गरेको प्रमाण भेटिए कानुनअनुसार कारबाही हुनुपर्ने भन्दै आफूहरू कानुनी प्रक्रियाबाट भाग्न नखोजेको पनि बताए ।

तर, प्रमाणबिना कसैलाई थुन्ने भन्दै अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण भएको उनको भनाइ थियो । ओलीले चेतावनी दिँदै भने ‘ ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ, फलानोलाई थुन्दिन्छु। ठट्टा गर्‍या हो ? तिनी जन्मनुभन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिरहेका छौँ। मजाक गर्ने हामीमाथि ? थुने हुन्छन् त्यही समातेर। जो आउँछ थुन्दिन्छु, जो आउँछ थुन्दिन्छु, क्या हो यो ? हामी मजाकका पात्र हौँ ?’

यसैबीच, गृहमन्त्री सुधन गुरुङले पनि फाइल खोल्दै गरेको र सबै थुनिने अभिव्यक्ति दिएको प्रसंग उठाउँदै ओलीले त्यसको अर्थबारे प्रश्न गरे । उनले भने, ‘गृहमन्त्रीले फाइल खोल्दै छु, पर्खनुस्, सबै थुनिन्छन्। एक से एक थुनिन्छन्। कसलाई भनेको हो ? सबै थुनिन्छन् भने उनी र को–को बाँच्छन् त नेपालमा ? को–को बाँकी रहन्छ ? यस्तो गैरजिम्मेवार ढंगका अभिव्यक्तिको अन्त लगाऊ। नेकपा एमाले यस्ता हावादारी कुराहरूबाट हल्लिनेवाला पनि छैन, वास्ता गर्नेवाला पनि छैन।’

यस्तै, ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने दाबी समेत गरेका छन् । ‘नेकपा एमाले दया, माया, कृपाले बाँचेको पार्टी होइन। संघर्षको मैदानबाट, संघर्षको मैदानबाट आएर, लडेर, जितेर, कसैको कृपाले, हामी सरकारमा गएका थिएनौँ,’ ओलीले अगाडी भने,‘फेरि एमाले सरकारमा जान्छ कान खोलेर सुने हुन्छ, देश बनाउँछ। एमालेले विकासका जुन काम अगाडि सारेको छ ती कामहरुलाई फेरि अगाडि बढाउँछ । समृद्ध नेपाल सुखी नेपालीको सपना देख्न छोड्दैन, झन् प्रष्ट
ढंगले देख्छ, झन् दृढताका साथ नेकपा एमाले अगाडि बढ्छ ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit