काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन्।
३ हजार ३९९ मिटर लामो उक्त सुरुङको ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले द्रुतमार्ग निर्माण सम्पन्न भएपछि देशको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे । उनले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व तथा राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्र निर्माण र विकासका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। ‘विशेष गरी विकट भौगोलिक अवस्था, जटिल भूबनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवम् अनुकरणीय रहेको छ’, राष्ट्रपति पौडेलले भने ।
राष्ट्रिय गौरवको आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ तथा पुलसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना अहोरात्र खटिरहेको उल्लेख गर्दै उनले काठमाडौं उपत्यकालाई तराई/मधेशसँग प्रत्यक्ष जोड्ने करिब ७१ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग निर्माण सम्पन्न भएपछि यातायात क्षेत्रमा उल्लेखनीय सुधार आउने बताए । ‘यो आयोजना सञ्चालनबाट यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुनुका साथै इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा पनि उल्लेख्य बचत हुने नै छ,’ राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदानमार्फत देशको आर्थिक, सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने यो आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार तथा नेपाली सेना दृढ रहेको पाएको छु।’

द्रुतमार्गको महत्व भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरहेको उनको भनाइ छ । यसले राजधानी काठमाडौं र तराई/मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । ‘पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा यस आयोजनाको योगदान दूरगामी र महत्वपूर्ण रहने अपेक्षा गरेको छु,’ पौडेलले थप भने, ‘त्यसैले, यो आयोजना निर्माणका लागि कुनै पनि कसर बाँकी नराखी प्रभावकारी समन्वय तथा आआफ्नो जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ निर्वाह गर्दै नेपाली सेनालाई सबैको सहयोग रहने विश्वास गरेको छु ।’
उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालस्थित चीनका राजदूत चाङ माओमिङ, कोरियाका राजदूत पार्क जे क्यूङ तथा प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्