काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा सुरक्षा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ। बैंकले २०८३ असोज ८ गतेदेखि साविककै आकारमा रङ्ग परिवर्तन गरी बैजनी रङ्गको घेराभित्र फिक्का हरियो रङ्गको नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको हो।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको सिरिज नम्बर २०२५ एडी तथा वि.सं. २०८२ उल्लेख गरिएको छ। नोटको सङ्केत नम्बर ९२ ०००००१ देखि ५० ९९९९९९ सम्म रहनेछ। यसअघि २०७७ साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइएको १ हजार रुपैयाँ दरको सिरिज २०१९ अन्तर्गतको नोट सङ्केत नम्बर ६८ ००००१ देखि ९१ ४४०००० सम्म मात्र जारी गरिएको थियो। त्यसपछि नयाँ सिरिज २०२५ को बैंकनोट सङ्केत नम्बर ९२ ०००००१ बाट सुरु गरिएको राष्ट्र बैंकले जनाएको छ।
नयाँ नोटमा के–के छन् विशेषता ?
नयाँ १ हजार रुपैयाँको नोटको अग्रभागको मध्य खण्डमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १ हजार भुक्तानी गरिने प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ। नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। पानीछापको मुनि १००० अङ्कसमेत समावेश गरिएको छ।
नोटको दायाँतर्फ निलो रङ्गमा १००० अङ्कको केही अंश देखिने ‘सी थ्रु रजिस्टर’ राखिएको छ। प्रकाशतर्फ पारेर हेर्दा उक्त अङ्क पूर्ण रूपमा देखिने व्यवस्था गरिएको छ।
दृष्टिविहीन व्यक्तिलाई नोट पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले दायाँतर्फको तल्लो भागमा एक हजार अंक जनाउने रोमन अक्षर ‘M’ राखिएको छ। त्यसैगरी सगरमाथा हिमालको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०–१० वटा तेर्सा रेखा (Angular Lines) राखिएको राष्ट्र बैंकले जनाएको छ।
नोटको अग्रभागमा अण्डाकार आकृतिभित्र भगवतीको चित्रसमेत समावेश गरिएको छ। उक्त चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने विशेषतायुक्त रहेको छ।
त्यस्तै, नोटमा ३.५ मिलिमिटर चौडाइ भएको सुरक्षण धागो राखिएको छ। सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने चलायमान विशेषता भएको उक्त धागोमा ‘NRB’ र ‘1000’ अंकित गरिएको छ। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखतसमेत रहेको छ।
पृष्ठभागमा जुम्ल्याहा हात्तीको चित्र
नयाँ १ हजार रुपैयाँको नोटको पृष्ठभागमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने राम र लक्ष्मण नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ। चित्रको माथिल्लो भागमा ‘ नेपाल राष्ट्र बैंक ’ लेखिएको छ।
नोटको पृष्ठभागको बायाँतर्फ निलो रङ्गमा १००० अङ्कको केही अंश देखिने सी थ्रु रजिस्टर राखिएको छ। प्रकाशतर्फ पारेर हेर्दा उक्त अङ्क पूर्ण रूपमा देखिने व्यवस्था गरिएको छ।
पानीछापको दायाँतर्फ नेपालको सातवटा प्रदेशलाई जनाउने गरी सातवटा लालीगुराँसका चित्र प्रयोग गरिएको छ। नोटको दायाँतर्फ ‘ RUPEES ONE THOUSAND’ लेखिएको छ भने हनुमानढोकास्थित ल्होचोकमा रहेको ऐतिहासिक महत्वको थाम (Pillar) को आकृतिसमेत समावेश गरिएको छ।
नोटको तल्लो भागको बोर्डरमा ‘2025 A.D.’ सिरिज उल्लेख गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले नयाँ नोट चलनचल्तीमा ल्याउने जानकारी दिँदै नोट राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्