काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले कर्मचारीको सरुवा–बढुवालाई विधि र पूर्वानुमानयोग्य प्रणालीमा आधारित बनाउन स्वायत्त सरुवा बोर्ड गठन गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले राजनीतिमा आएपछि आफूले सबैभन्दा बढी दबाब कर्मचारीको सरुवा र बढुवाकै विषयमा झेल्नुपरेको बताए। सुशासन र पारदर्शिताको पक्षमा रहने भनिएका आफन्त, साथीभाइ तथा शुभेच्छुकहरू समेत सरुवा–बढुवाका लागि व्यक्तिगत आग्रह लिएर आउने गरेको उनको भनाइ थियो । उनले भने, ‘सम्माननीय सभामुख महोदय, म राजनीतिमा आएपछि मैले सबैभन्दा धेरै भोग्ने एउटा प्रेसर भनेको चाहिँ सरुवा र बढुवाको नै हो। अरु बेला सुशासन र पारदर्शिताका कुरा गर्ने मेरा आफ्नै नातागोता र साथीभाइहरू पनि मेरो घरमा नातावाद र कृपावाद खोज्दै सरुवा, बढुवाका लागि आउनुहुन्छ।’
आचार्यले आफूले भने सबैलाई सरकारमा सरुवा–बढुवाका लागि भनसुन नचल्ने र विधि तथा पद्धतिअनुसार मात्रै काम हुने बताउँदै आएको उल्लेख गरे । ‘मैले सबैजनालाई हाम्रो सरकारमा सरुवा, बढुवामा विधि र पद्धति बाहेक अरु केही पनि हुँदैन, भनसुन चल्दैन भनेर भन्ने गरेको छु,’ उनले भने ।
रास्वपाको वाचापत्रको बुँदा नम्बर ८ मा स्वायत्त सरुवा बोर्ड गठन गरी कर्मचारी सरुवा–बढुवालाई विधि र पूर्वानुमानमा आधारित बनाउने विषय उल्लेख रहेको भन्दै उनले सरकारलाई उक्त बोर्ड तत्काल गठन गर्न आग्रह गरे । उनले भने, ‘अझ हाम्रो आफ्नै वाचापत्रको बुँदा नम्बर ८ देखाएर स्वायत्त सरुवा बोर्ड गठन हुने, जसले चाहिँ विधि र पूर्वानुमानमा सरुवा, बढुवा गर्छ भनेर भनेको छु। यो सरकारलाई यो बोर्ड चाँडै गठन गर्न आग्रह छ।’
सरुवा–बढुवाको माग पूरा गर्न नसक्दा आफन्त र साथीभाइबाटै आलोचना तथा गाली खानुपर्ने अवस्था आउन सक्ने भन्दै आचार्यले त्यसबाट आफूलाई बचाइदिन सरकारसँग व्यंग्यात्मक शैलीमा आग्रह गरे । ‘नत्र यो आउने दशैँमा आफ्नै इष्टमित्रले टीका र आशीर्वाद नदेलान् भन्ने पीर छ, अझ काम गरेन भनेर सराप पो दिने हुन् भन्ने डर छ। यो सरापबाट मलाई बचाइदिनुपर्यो सरकार,’ उनले भने ।
आचार्यले कर्मचारी सरुवा–बढुवामा व्यक्तिगत पहुँच र भनसुनको अन्त्य गर्दै स्पष्ट मापदण्ड, विधि र पूर्वानुमानयोग्य प्रणाली स्थापित गर्न स्वायत्त सरुवा बोर्ड आवश्यक रहेको बताएका हुन्।















प्रतिक्रिया दिनुहोस्