Advertisement
Advertisement
Corporate Samachar
२९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

एउटै छानामुनि जुट्दैछन् २० देशका कृषि प्रविधि, भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

एउटै छानामुनि जुट्दैछन् २० देशका कृषि प्रविधि, भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने र नेपाली कृषिलाई व्यावसायिक तथा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित काठमाडौंमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ। आगामी मंसिर ४ देखि ६ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने प्रदर्शनीमा २० देशका कृषि प्रविधि, उपकरण तथा यन्त्र प्रदर्शन गरिनेछ।

विज्ञापन
Advertisement
Advertisement

‘कृषिमा यन्त्र र प्रविधि स् कृषक र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ आयोजना हुने प्रदर्शनीमा ७० भन्दा बढी कम्पनी तथा संस्थाको सहभागिता रहनेछ। १५० भन्दा बढी स्टलमार्फत दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण र प्रविधि अवलोकन गर्न पाइने आयोजकले जनाएको छ। प्रदर्शनीमा सर्वसाधारणका लागि प्रवेश निःशुल्क हुनेछ।

कृषि उत्पादनमा आधुनिक उपकरणको प्रयोग बढाउने, उत्पादन लागत घटाउने र कृषकलाई नयाँ प्रविधिसँग परिचित गराउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो। प्रदर्शनीमा कृषि तथा पशुपन्छीपालनदेखि मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती र सिँचाइसम्मका आधुनिक प्रविधि प्रस्तुत गरिनेछन्।

त्यसैगरी, बाली भित्र्याएपछिको व्यवस्थापन, शीतभण्डार, कृषि उपज प्रशोधन तथा बजारीकरणका उपकरण र प्रविधिसमेत प्रदर्शनीमा रहनेछन्। बीउबिजन तथा कृषि र पशुपन्छीसम्बन्धी सेवा प्रदान गर्ने स्वदेशी तथा विदेशी कम्पनीको सहभागिताले कृषकलाई उपलब्ध प्रविधि र सेवाबारे प्रत्यक्ष जानकारी लिन सहज हुने अपेक्षा गरिएको छ।

स्वदेशी कृषि उपकरण उत्पादक तथा व्यवसायीलाई प्रोत्साहन गर्न आयोजकले विशेष सुविधा पनि उपलब्ध गराएको छ। करिब ३० वटा स्टल स्वदेशी उत्पादक कम्पनी तथा संस्थालाई निःशुल्क प्रदान गरिएको छ। ‘मेक इन नेपाल’ तथा ‘मेड इन नेपाल’ अन्तर्गतका कम्पनीलाई स्टल भाडामा ६० प्रतिशत, नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुट दिइएको छ।

प्रदर्शनीमा उपकरणको अवलोकनसँगै कृषि यान्त्रीकरणसम्बन्धी विज्ञहरूको प्रस्तुति, प्यानल छलफल र नीतिगत संवादसमेत सञ्चालन हुनेछन्। यसले कृषि क्षेत्रमा प्रविधि भित्र्याउने, लगानीका सम्भावना पहिचान गर्ने तथा उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक र कृषकबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने आयोजकको अपेक्षा छ।

प्रदर्शनीको आयोजना नेपाल सरकारको कृषि विभागअन्तर्गत राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघले संयुक्त रूपमा गरेका हुन्। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) सहआयोजक रहेका छन्।

एसकेटी नेपाल प्रालि मुख्य प्रायोजक रहेको प्रदर्शनीमा युरोपेली संघ र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त सहयोगमा जीआईजेडद्वारा सञ्चालित ग्रेप–२ परियोजना एसोसिएट पार्टनरका रूपमा रहेको छ। विभिन्न कम्पनी तथा संस्थाले प्लाटिनम र गोल्ड प्रायोजकका रूपमा सहकार्य गरेका छन्।

नेपाल कृषि मेसिनरी व्यवसायी संघका अनुसार कृषि यान्त्रीकरणसम्बन्धी प्रदर्शनीको सुरुवात वि।सं। २०७० मा चितवनको भरतपुरबाट भएको थियो। तत्कालीन कृषि इन्जिनियरिङ निर्देशनालयले आयोजना गरेको पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीपछि विभिन्न स्थानमा यस्ता कार्यक्रम हुँदै आएका छन्।

नेपाल सरकारका विभिन्न निकाय र संघको सहकार्यमा हालसम्म पाँचवटा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एउटा प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी र एउटा अन्तर्राष्ट्रिय एग्रिटेक प्रदर्शनी सम्पन्न भइसकेका छन्।

कृषिमा श्रम अभाव, उत्पादन लागत र उत्पादकत्वसम्बन्धी चुनौतीलाई आधुनिक प्रविधिको प्रयोगमार्फत सम्बोधन गर्न सकिने भएकाले यस्ता प्रदर्शनी महत्वपूर्ण हुने आयोजकको भनाइ छ। यसले कृषकलाई उपयुक्त मेसिन तथा प्रविधि छनोट गर्न, कृषि व्यवसायमा लगानीका अवसर खोज्न र कृषि क्षेत्रलाई परम्परागत प्रणालीबाट व्यावसायिकतातर्फ अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा कृषक, कृषि उद्यमी, विद्यार्थी, अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी निकाय, कृषि सहकारी र सर्वसाधारणलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit