काठमाडौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको कर्जा लगानी ३९ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८२\०८३ सम्म संस्थाको कुल निक्षेप ७५ करोड रुपैयाँभन्दा बढी पुगेको जानकारी संस्थाको १९औँ वार्षिक साधारणसभामा दिइएको हो।
साधारणसभामा प्रस्तुत विवरणअनुसार संस्थामा हाल १ हजार ९७५ जना सेयर सदस्य रहेका छन् भने कुल सेयर पुँजी करिब ८ करोड रुपैयाँ पुगेको छ। २९ जना संस्थापक सेयर सदस्यबाट सुरु भएको सहकारीले आफ्नो सेवा विस्तार गर्दै हाल काठमाडौं महानगरपालिका–२२, न्युरोडस्थित खिचापोखरीमा आफ्नै सुविधासम्पन्न भवनबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले चुनौतीपूर्ण आर्थिक परिस्थितिका बाबजुद चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य संख्या, सेयर पुँजी र बचत रकममा उल्लेखनीय वृद्धि गर्न सफल भएको बताए। उनले संस्थाले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।
त्यसैगरी, काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले सहकारी संस्था वित्तीय कारोबार गर्ने निकायमा मात्र सीमित नरही स्थानीय विकासको साझेदार, उद्यमशीलता प्रवर्द्धक र समृद्धिको सहयात्री बन्नुपर्ने बताए। सदस्यहरूको विश्वास जित्न सफल चाइना ट्रेडले नमुना सहकारी संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गरेको उनको भनाइ थियो।
साधारणसभामा वरिष्ठ सहकारीविज्ञ कुबेर निरौलाले सफल सहकारी निर्माणमा सदस्यहरूको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठले संस्थाको २०औं वर्षको गौरवमय यात्रामा निरन्तर साथ र विश्वास प्रदान गर्ने सम्पूर्ण सेयर सदस्य, नियामक निकाय, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा व्यवस्थापन समूहप्रति आभार व्यक्त गरे।
उनले आगामी दिनमा थप परिष्कृत डिजिटल सेवा र सदस्यकेन्द्रित कार्यक्रममार्फत संस्थालाई ‘सदस्य समर्पित अग्रणी सहकारी’ बनाउने प्रतिबद्धता व्यक्त गरे। ‘आर्थिक सशक्तीकरण र नवप्रवर्तनमार्फत सदस्य समृद्धिमा योगदान पुर्याउने’ संस्थाको लक्ष्यलाई साकार पार्न निरन्तर क्रियाशील रहने उनले बताए।















प्रतिक्रिया दिनुहोस्