काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुई दिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार दिउँसो नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्। प्रधानमन्त्री शाहको स्वागतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायत अधिकारीहरू पनि विमानस्थलमा उपस्थित थिए। भ्रमणका क्रममा प्रधानमन्त्री शाह ताजमहल होटलमा बस्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले आजै भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग भेटवार्ता गर्दैन् । आइतबार साँझ ६ बजे ताजमहल होटलमा हुने भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने बताइएको छ। बालेनको आइतबारका लागि यसबाहेक अन्य औपचारिक कार्यक्रम तय गरिएको छैन। भ्रमणको दोस्रो दिन सोमबार भने प्रधानमन्त्री शाह उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनेछन्। सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा उनको औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनी राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित र दुई देशबीचको सहकार्यका विविध विषयमा छलफल हुनेछ।
भारतीय विदेश मन्त्रालयका अनुसार सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा दुवै प्रधानमन्त्रीको उपस्थितिमा सहमति तथा सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रम छ। त्यसलगत्तै दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत भेटवार्ताका उपलब्धि र सहमतिबारे जानकारी गराउनेछन्। यसैगरी, सोमबार अपराह्न ३ बजेर १५ मिनेटमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। दुई दिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ बजेर ३५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनेछन्। स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिने जनाइएको छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहसहित ३५ सदस्य सहभागी छन्। प्रधानमन्त्री शाहको यो भ्रमणलाई नेपाल–भारतबीचको उच्चस्तरीय संवादलाई अघि बढाउने तथा द्विपक्षीय सम्बन्ध र सहकार्यका नयाँ सम्भावना पहिल्याउने अवसरका रूपमा हेरिएको छ।















प्रतिक्रिया दिनुहोस्