काठमाडौं । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने भएको छ । कम्पनीले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो ।
संगीत, कला, फेसन, सडक खेलकुद र सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा नेपाल र भारतका कलाकार तथा सिर्जनात्मक समुदायको सहभागिता रहनेछ । महोत्सवको मुख्य आकर्षण भारतीय चर्चित र्यापर डिभाइन रहनेछन् । उनले नेपाली र्यापर साकारसँगै प्रस्तुति दिनेछन् । त्यसैगरी कुमा सागर एन्ड द ख्वापा, गाउले भाइ, इस्ट्रीज र रातो रानीले पनि सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ । नेपाल हिपहप फाउन्डेसनको सहभागिताले नेपाली हिपहप संस्कृतिलाई समेत महोत्सवमा विशेष स्थान दिइनेछ । कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुनेछ । रोयल इन्फिल्डको हन्टर ३५० मोटरसाइकलसँग जोडिएको सहरी जीवनशैली र व्यक्तिगत अभिव्यक्तिको अवधारणाबाट सुरु भएको हन्टरहुड संगीत, कला र सडक संस्कृतिमा रुचि राख्ने युवालाई जोड्ने महोत्सवका रूपमा स्थापित हुँदै आएको छ । काठमाडौंको मौलिक कला, संगीत र विकसित हुँदै गएको सहरी संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले नेपाललाई आयोजना स्थलका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ ।
महोत्सवमा सांगीतिक प्रस्तुतिसँगै स्केटबोर्डिङ, बीएमएक्स, फ्रिस्टाइल फुटबल र बास्केटबललगायतका गतिविधि सञ्चालन हुनेछन् । नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसनको सहभागितामा स्केटपार्कका गतिविधि आयोजना गरिनेछ । स्केटरहरूका लागि ‘क्यास फर ट्रिक्स’ चुनौतीसमेत रहनेछ, जहाँ सहभागीले आफ्नो सीप प्रदर्शन गरी पुरस्कार जित्न सक्नेछन् । त्यस्तै, एक्सट्रिम इनर्जी ड्रिंकको सहकार्यमा फ्रिस्टाइल फुटबल, बास्केटबल, रियाक्सन क्याच, हिट द क्यान र गिल्ली डण्डालगायतका खेल तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुनेछन् । दर्शकले समेत यी गतिविधिमा सहभागी हुन पाउनेछन् । नेपाली परम्परागत कला र आधुनिक सिर्जनात्मक प्रस्तुतिलाई पनि महोत्सवमा समेटिएको छ । लाखे नाच, भैरव तथा काली नृत्य र ओटाकु जात्राको कस्प्ले प्रस्तुतिले नेपाली सांस्कृतिक विविधता झल्काउनेछन् । साथै, टोट ब्याग प्रिन्टिङ, क्याप कस्टमाइजेसन, चार्म निर्माण, परम्परागत मुखौटा निर्माण, ट्याटु तथा फेस पेन्टिङसम्बन्धी कार्यशालासमेत सञ्चालन हुनेछन् ।
स्थानीय फेसन तथा सिर्जनात्मक उत्पादनको प्रवर्द्धनका लागि विशेष फ्ली मार्केट राखिनेछ । त्यहाँ नेपाली ब्रान्डका फेसन सामग्री, हस्तकलाका उत्पादन तथा रोयल इन्फिल्डका पोसाक र एसेसरिज उपलब्ध हुनेछन् । खानाका पारखीका लागि पनि विभिन्न स्थानीय फुड ब्रान्डका परिकार तथा पेय पदार्थका स्टल रहनेछन् । आयोजकका अनुसार हन्टरहुड काठमाडौं एउटा सांगीतिक कार्यक्रम मात्र नभई कला, संस्कृति, खेलकुद, फेसन र युवाको सिर्जनात्मक अभिव्यक्तिलाई एउटै थलोमा जोड्ने महोत्सव हुनेछ । महोत्सवको टिकट खल्ती र टिकट सञ्जालमार्फत खरिद गर्न सकिनेछ । टिकटको मूल्य ३५० रुपैयाँदेखि सुरु हुने आयोजकले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्