काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को आयोजनामा सञ्चालन भइरहेको ‘रेड बुल १३औँ कृति अवार्ड्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका सदस्यहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा. डा. विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई अवार्डका लागि प्राप्त मनोनयन मूल्याङ्कन गर्ने मापदण्ड, प्रक्रिया र आचारसंहिताबारे विस्तृत जानकारी गराएका थिए।
यस वर्षको कृति अवार्ड्सको निर्णायक मण्डललाई बहुविधागत र विषयगत विज्ञतामा आधारित बनाइएको छ। विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ तथा बजार सञ्चारका विभिन्न विशिष्टीकृत क्षेत्रका विज्ञसँगै सङ्गीत, कला तथा साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि र पछिल्लो समय उदाउँदो क्षेत्र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का प्रबुद्ध व्यक्तित्वहरूलाई समेत निर्णायक मण्डलमा समेटिएको छ।आन कार्यसमितिको कार्यादेशअनुसार सम्बन्धित विधामा योगदान र विज्ञताका आधारमा छनोट गरी आमन्त्रण गरिएका निर्णायकहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्याङ्कन गर्नेछन्।
अवार्डको गरिमा, निष्पक्षता र विश्वसनीयता कायम राख्दै मूल्याङ्कन प्रक्रियालाई प्रभावमुक्त बनाउन आनको कार्यसमितिलाई निर्णायक छनोट प्रक्रियाबाट पूर्ण रूपमा अलग राखिएको छ। निर्णायक छनोट तथा मूल्याङ्कन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको संघले स्पष्ट पारेको छ। ऊर्जा पेय रेड बुल मुख्य प्रायोजक रहेको यस वर्षको कृति अवार्ड्समा डिजिटल इन्फ्लुएन्सर व्यवस्थापन प्लेटफर्म इनमार्कको ‘इन एसोसिएसन विथ’ प्रायोजन रहेको छ। त्यस्तै, जीएमडब्ल्यू ओरा, कोका–कोला र यति इन्टरनेसनल कलेज ‘पावर्ड बाई’ प्रायोजकका रूपमा रहेका छन्।















प्रतिक्रिया दिनुहोस्