Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

वीर अस्पतालका दुई भवन जोड्न पौने ५ करोड लागतमा आकाशे पुल निर्माण हुँदै, दुवैतर्फ लिफ्टसहित यस्तो बन्दैछ संरचना

वीर अस्पतालका दुई भवन जोड्न पौने ५ करोड लागतमा आकाशे पुल निर्माण हुँदै, दुवैतर्फ लिफ्टसहित यस्तो बन्दैछ संरचना
विज्ञापन
Advertisement

काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षबाट शल्यक्रिया कक्ष तथा सघन उपचार कक्ष (आईसीयू) सम्म बिरामीलाई सहज र सुरक्षित रूपमा पुर्‍याउन लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण हुने भएको छ। काठमाडौं महानगरपालिकाले अस्पतालका पुरानो र नयाँ भवनलाई जोड्ने गरी उक्त पुल निर्माण गर्न लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

आकाशे पुल निर्माणका लागि बिहीबार काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जगपूजा तथा शिलान्यास गरे । करिब ४ करोड ७१ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको पुलले आकस्मिक उपचारका लागि आउने बिरामीलाई समयमै शल्यक्रिया तथा सघन उपचार कक्षमा पुर्‍याउन सहज बनाउने अपेक्षा गरिएको छ। शिलान्यास कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले आकस्मिक अवस्थामा रहेका बिरामीको जीवन बचाउन एक–एक मिलिसेकेण्डको समेत महत्त्व हुने भएकाले स्वास्थ्य पूर्वाधारमा लगानी गरिएको बताइन् ।

उनका अनुसार वीर अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्ष र नयाँ भवनमा रहेका शल्यक्रिया कक्ष तथा आईसीयूबीच हाल सडक पार गरेर बिरामी लैजानुपर्ने बाध्यता छ। व्यस्त सडकमा एम्बुलेन्स तथा अन्य सवारीसाधनको आवागमन भइरहने भएकाले बिरामीलाई अर्को भवनमा लैजाँदा समय लाग्नुका साथै दुर्घटनाको जोखिमसमेत रहने गरेको छ। ‘हेर्दा यो भौतिक संरचनाका रूपमा मात्र देखिन सक्छ। तर, यो चिकित्सक र बिरामीको सुरक्षा तथा बिरामीका आफन्तको सहजताका लागि संवेदनशील पूर्वाधार हो,’ डंगोलले भनिन् । उनले लामो समयदेखि आवश्यक ठानिएको तर कार्यान्वयनमा आउन नसकेको योजनालाई महानगरपालिकाले अघि बढाएको उल्लेख गरिन् । आकस्मिक उपचारमा समयको महत्त्वलाई ध्यानमा राखेर दुई भवनबीच सुरक्षित र सहज आवागमनको व्यवस्था गर्न लागिएको उनको भनाइ छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. विवेक आचार्यले आकाशे पुललाई भौतिक संरचनाका रूपमा मात्र नभई मानवीय संवेदनामा आधारित सेवाको पूर्वाधारका रूपमा लिनुपर्ने बताए । त्यस्तै, वीर अस्पतालका निर्देशक सहप्राध्यापक डा. विकास नेपालले निर्माण हुन लागेको पुलले अस्पतालका भवनलाई मात्र नभई उपचार सेवालाई समेत जोड्ने बताए। उनका अनुसार अस्पतालको नयाँ भवनमा ९५० शय्या, १५ वटा अपरेसन थिएटर र ८० वटा आईसीयू छन्। आकस्मिक कक्षबाट बिरामीलाई ती उपचार कक्षसम्म सुरक्षित रूपमा पुर्‍याउन पुलले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।

यस्तो बन्नेछ संरचना

कार्यक्रममा अस्पतालका पूर्वनिर्देशक तथा वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा.डा. दिलिप शर्माले आफ्नो १४ महिने नेतृत्व अवधिमा भएको यो कामलाई सबैभन्दा महत्त्वपूर्ण उपलब्धिमध्ये एक भएको बताए।
काठमाडौं महानगरपालिका वडा नं.२७ का अध्यक्ष योगेशकुमार खड्गीले पनि अस्पतालका दुई भवन जोड्ने योजनालाई वडाले गौरवको योजनाका रूपमा लिएको बताए। भित्री सहरी क्षेत्रका स्थानीय बासिन्दाको पहिलो सम्पर्क अस्पतालका रूपमा वीर अस्पताल रहेकाले यसको सेवा व्यवस्थित बनाउन वडाले सहकार्य गर्ने उनको भनाइ छ। महानगरपालिकाका अनुसार पुल निर्माणको लागत अनुमान ४ करोड ८२ लाख ६६ हजार ८१२ रुपैयाँ रहेको थियो। सार्वजनिक खरिद प्रक्रियामार्फत ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँमा निर्माणको ठेक्का सम्झौता भएको हो। निर्माणको जिम्मा सुपर सौगात पीसी द्रव्य जेभीले पाएको छ। कम्पनीलाई २०८३ मंसिर ९ गते कार्यादेश दिइएको छ भने निर्माण सम्पन्न गर्ने अवधि २०८४ कात्तिक ३० गतेसम्म तोकिएको छ।

यस्तो बन्नेछ संरचना

निर्माण हुने आकाशे पुलको दुवैतर्फ अस्पतालको बेडसहित बिरामी ओसारपसार गर्न मिल्ने गुणस्तरका लिफ्ट जडान गरिनेछ। लिफ्टमा चढ्ने तथा ओर्लने स्थान र भ¥याङ अस्पताल परिसरभित्रै रहने गरी डिजाइन गरिएको महानगरपालिकाले जनाएको छ। यसले बिरामीलाई सडकमा ननिकाली एक भवनबाट अर्को भवनमा लैजान सकिनेछ। पुल पूर्ण रूपमा फलामबाट निर्माण गरिनेछ। पहिलो चरणमा फलामको संरचना निर्माण गरी लिफ्ट जडान गरिने र दोस्रो चरणमा काठमाडौंको मौलिक सहरी स्वरूप झल्किने गरी बाहिरी सजावट गरिने महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिए।

विभागका इन्जिनियर तथा पुलका डिजाइनर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको भित्री संरचनामा अत्याधुनिक सामग्री प्रयोग गरिनेछ भने बाहिरी मोहडालाई सहरको मौलिक स्वरूपअनुसार तयार पारिनेछ। आकाशे पुल निर्माण सम्पन्न भएपछि आकस्मिक कक्षबाट शल्यक्रिया तथा आईसीयूमा बिरामी लैजाँदा सडक पार गर्नुपर्ने बाध्यता हट्नेछ। यसले उपचारमा लाग्ने समय घटाउनुका साथै बिरामी, स्वास्थ्यकर्मी र अस्पतालका सेवाग्राहीको आवागमनलाई थप सुरक्षित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit