काठमाडौं । विश्वकै सबैभन्दा मूल्यवान् प्रविधि कम्पनीमध्ये एक एनभिडियाका संस्थापक जेन्सेन हुआङको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनरागमन भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष राजनीतिक हस्तक्षेप, अमेरिकी राष्ट्रिय सुरक्षा निकायको आश्वासन र कम्पनीका लगानीकर्ता तथा कर्मचारीको दबाबको संयुक्त परिणाम स्वरुप हुआङको पुन:बहाली भएको छ।
नोभेम्बर १२ मा अफेयर्स विवाद र चीनसँग जोडिएको राष्ट्रिय सुरक्षा आशंकाका कारण सीईओ पदबाट राजीनामा दिएका हुआङलाई एनभिडियाको सञ्चालक समितिले सोमबार (नोभेम्बर २३) पुनः सीईओ नियुक्त गरेको हो। कम्पनीले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार सञ्चालक समितिले सर्वसम्मत रूपमा उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको थियो। यो निर्णय सामान्य नेतृत्व परिवर्तन मात्र थिएन। केही दिनअघिसम्म हुआङलाई पुनः नेतृत्वमा ल्याउने विषयमा अनिच्छुक देखिएको सञ्चालक समितिको निर्णय एक साताभन्दा कम समयमै उल्टिएको थियो । यसमा ट्रम्प प्रशासनको भूमिका निर्णायक देखिएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीएनबीसीसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले हुआङको पुनरागमनका लागि आफूले सञ्चालक समितिलाई मनाएको दाबी गरेका छन् । ‘मैले उनीहरूलाई मनाएँ। मैले सम्झौता गराएँ,’ ट्रम्पले भनेका थिए, ‘डेढ साताअघि भन्दा हिजो उनीहरूलाई मनाउन धेरै सजिलो भयो ।’हुआङको पुनरागमनका लागि ट्रम्पले राजनीतिक प्रभाव मात्र प्रयोग गरेनन्, राष्ट्रिय सुरक्षा जोखिम नरहेको विषयमा अमेरिकी प्रशासनको धारणा पनि सञ्चालक समितिसम्म पुर्याए। यही आश्वासनले कम्पनीको नेतृत्व परिवर्तनसम्बन्धी निर्णयलाई नयाँ दिशा दिएको देखिन्छ। त्यअघि हुआङले अमेरिकी राष्ट्रिय सुरक्षा सँग सम्बन्धित महत्वपूर्ण सूचना चीनलाई दिएको आशंकामा छानबिन गर्न स्वतन्त्र समिति समेत बनेको थियो।
हुआङलाई फर्काउन ट्रम्पले उपराष्ट्रपति भान्सलाई खटाए
हुआङको राजीनामापछि अमेरिकी प्रशासनभित्र उनको पुनरागमनलाई लिएर दुईवटा दृष्टिकोण देखिएका थिए। एकातिर अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले चीनसँग सम्भावित प्रविधि सूचना चुहावट र जासुसीको जोखिमलाई गम्भीर रूपमा लिएका थिए भने अर्कोतिर ट्रम्प निकट अधिकारीहरूले हुआङलाई अमेरिकाको प्रविधि प्रतिस्पर्धाका लागि अपरिहार्य व्यक्तिका रूपमा हेरेका थिए। हुआङको पुनरागमनका लागि ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई समेत परिचालन गरेका थिए। द वासिङ्टन पोस्ट र एक्सियोस का विवरणअनुसार भान्सले सिलिकन भ्यालीका प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तिसँगको आफ्नो सम्बन्ध प्रयोग गर्दै एनभिडियाका सञ्चालक समितिका सदस्यहरूसँग छलफल गरेका थिए। ट्रम्पले भान्सलाई व्यक्तिगत रूपमा यो जिम्मेवारी दिएका थिए। भान्सले हुआङसँग पनि संवाद गरेका थिए। ट्रम्प प्रशासनका अधिकारीहरूलाई हुआङलाई नेतृत्वबाट बाहिर राख्दा अमेरिकाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउन सक्ने चिन्ता थियो ।
ट्रम्पको अर्को चिन्ता हुआङलाई चीनले आफ्नो पक्षमा पार्न सक्ने सम्भावना पनि थियो। उनले सीएनबीसीसँगको अन्तर्वार्तामा हुआङजस्तो क्षमतावान् व्यक्तिलाई कम्पनीबाट बाहिर राख्दा चीनले उनलाई आफ्नो प्रविधि उद्योगको नेतृत्व गर्न प्रस्ताव गर्न सक्ने आशय व्यक्त गरेका थिए । यसैबीच, अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चेसँग पनि ट्रम्पले छलफल गरेका थिए । ब्लान्चेले हुआङ स्वयंले आपराधिक गतिविधि गरेको प्रमाण नभेटिएको जानकारी दिएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । तर यसको अर्थ एनभिडियासँग जोडिएका सबै अनुसन्धान समाप्त भएका हुन् भन्ने होइन। हुआङमाथि व्यक्तिगत रूपमा राष्ट्रिय सूचना चुहाएको गतिविधिको प्रमाण नभेटिएको प्रशासनको धारणा र मेगास्पिडमार्फत चिप चीन पुर्याइएको हुन सक्ने विषयको अनुसन्धान फरक हुन् । नोभेम्बर २१ र २२ का छलफलपछि सञ्चालक समितिले हुआङलाई पुनः नेतृत्वमा ल्याउने निर्णय गरेको थियो। नोभेम्बर २३ मा जारी विज्ञप्तिमा कम्पनीले अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरूबाट प्राप्त जानकारीका आधारमा हुआङको पुनरागमनले राष्ट्रिय सुरक्षामा जोखिम नहुने विश्वास बनेको जनाएको छ ।
हुआङलाई फर्काउन लगानीकर्ता र कर्मचारीको दबाब उत्तिकै महत्त्वपूर्ण
हुआङको पुनरागमनमा ट्रम्पको भूमिका चर्चामा रहे पनि कम्पनीको आर्थिक अवस्था, लगानीकर्ताको विश्वास र कर्मचारीको मनोविज्ञान पनि महत्त्वपूर्ण पक्ष बने। हुआङले राजीनामा दिएपछि एनभिडियाको शेयरमा ठूलो गिरावट आएको थियो। विश्वको एआई उद्योगमा चिप आपूर्तिको केन्द्रमा रहेको कम्पनीमा नेतृत्वको अनिश्चितता बढेपछि लगानीकर्ताले जोखिम देख्न थालेका थिए। अन्तरिम सीईओ कोलेट क्रेसले जिम्मेवारी सम्हालेपछि कम्पनीको सञ्चालन निरन्तर रहने प्रतिबद्धता जनाइएको थियो। तर लगानीकर्ता र कर्मचारीको ठूलो हिस्साले हुआङको विकल्प खोज्नुभन्दा उनैलाई पुनः नेतृत्वमा ल्याउनु उपयुक्त हुने धारणा राखेको थियो ।
हुआङले सार्वजनिक रूपमा पनि आफू पुनः जिम्मेवारी लिन तयार रहेको बताएका थिए । नोभेम्बर १७ मा उनले कम्पनीका कर्मचारी, लगानीकर्ता, व्यावसायिक साझेदार र ग्राहकबाट आफूलाई सीईओका रूपमा फर्कन आग्रह गर्दै धेरै फोन र सन्देश आएको बताएका थिए ।उनले भनेका थिए, ‘एनभिडिया पुस्तौंमा एकपटक जन्मिने कम्पनी हो । यदि सञ्चालक समितिले सेयरधनी, कर्मचारी, कम्पनी र अमेरिकाको हितमा मेरो पुनरागमन उचित ठान्छ भने सीईओका रूपमा फर्कन पाउनु मेरो लागि सम्मानको विषय हुनेछ ।’ तर त्यतिबेला सञ्चालक समितिका अध्यक्ष हार्भी जोन्सले हुआङलाई पुनः नियुक्त गर्ने तत्कालीन मनसाय नरहेको स्पष्ट बताएका थिए । हुआङको व्यक्तिगत व्यवहार कम्पनीको आचारसंहितासँग मेल नखाएको विषय पनि निर्णयमा बाधक बनेको थियो । यद्यपि बजारको दबाब र नेतृत्वमा उनको विकल्प खोज्नुपर्ने चुनौतीले समितिको अघिल्लो अडान कमजोर बनायो। रोयटर्सका अनुसार हुआङको पुनरागमनको घोषणापछि सोमबार एनभिडियाको शेयर मूल्य कारोबारको प्रारम्भिक चरणमा ३३ प्रतिशतसम्म उकालो लागेको थियो । यसले एआईसँग सम्बन्धित अन्य कम्पनीका शेयरमा समेत सकारात्मक प्रभाव पारेको थियो ।
विवादको केन्द्रमा मेगास्पिड र चीन
हुआङको राजीनामाको पृष्ठभूमिमा व्यक्तिगत सम्बन्धसँगै राष्ट्रिय सुरक्षा र प्रविधि निर्यात नियन्त्रणको विषय जोडिएको थियो । सिंगापुरस्थित क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग जेन्सेनको विवाहेत्तर सम्बन्ध सार्वजनिक भएपछि विवाद चर्किएको थियो । अमेरिकी अधिकारीहरूले एलिसमाथि चीनको गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका व्यक्त गर्दै उनलाई चिनियाँ जासुसका रुपमा हेरेका थिए। तर उनी चिनियाँ जासुस भएको तथ्य भने सार्वजनिक रूपमा प्रमाणित भएको छैन । मेगास्पिडमाथि अमेरिकी निर्यात नियन्त्रण कानुन उल्लंघन गरी एनभिडियाका उन्नत एआई चिप चीनका कम्पनीसम्म पुर्याएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ। अमेरिकी न्याय मन्त्रालय र वाणिज्य मन्त्रालयले नोभेम्बर १६ मा संयुक्त रूपमा सार्वजनिक गरेको विवरणअनुसार मेगास्पिडमाथि सम्भावित निर्यात नियन्त्रण उल्लंघनको अनुसन्धान सन् २०२४ देखि नै भइरहेको थियो । अमेरिकी वाणिज्य मन्त्रालयले नोभेम्बर २३ मा मेगास्पिडलाई व्यापार प्रतिबन्ध सूचीमा राखेको थियो ।
हुआङलाई कम्पनीमा फर्केपछि पनि अनुसन्धान र जवाफदेहिताको चुनौती
एनभिडियाले हुआङलाई पुनः सीईओ बनाउने निर्णयसँगै कम्पनीभित्र दुईवटा महत्त्वपूर्ण संरचनागत व्यवस्था अघि सारेको छ । पहिलो, हुआङसँग जोडिएका आरोपबारे स्वतन्त्र सञ्चालकहरू सम्मिलित समितिले अनुसन्धान जारी राख्नेछ। यसका लागि बाह्य कानुनी परामर्शदाता पनि नियुक्त गरिएको छ । दोस्रो, राष्ट्रिय सुरक्षा र निर्यात नियन्त्रणसम्बन्धी जोखिमको निगरानी गर्न स्वतन्त्र सञ्चालकहरू सम्मिलित छुट्टै समिति गठन गरिएको छ। कम्पनीले नयाँ प्रमुख अनुपालन अधिकृत (सीसीओ) नियुक्त गर्ने प्रक्रिया पनि अघि बढाउने जनाएको छ । उक्त अधिकारीले सञ्चालक समितिको सम्बन्धित समितिलाई प्रतिवेदन दिने व्यवस्था गरिनेछ । यसबाट कम्पनीले हुआङलाई नेतृत्वमा फर्काए पनि व्यक्तिगत आचरण, राष्ट्रिय सुरक्षा र निर्यात नियन्त्रणसम्बन्धी प्रश्नलाई बेवास्ता नगर्ने सन्देश दिन खोजेको देखिन्छ । तर यो निर्णयमाथि अमेरिकी राजनीतिमा प्रश्न उठ्न थालेका छन् । केही सांसदले निजी कम्पनीको सञ्चालक समितिको निर्णयमा राष्ट्रपतिले प्रत्यक्ष प्रभाव पार्नु कर्पोरेट स्वायत्तताका दृष्टिले उचित नभएको बताएका छन् । साथै राष्ट्रिय सुरक्षा जोखिमबारे प्रशासनले दिएको आश्वासनको आधार के थियो भन्ने विषयमा पनि थप जवाफ मागिएको छ । हुआङ डिसेम्बर १ मा अमेरिकी संसद्का समितिहरूसँग अन्तर्वार्ताका लागि उपस्थित हुने कार्यक्रम रहेको र डिसेम्बर ३ मा सिनेटको सुनुवाइमा समेत सहभागी हुने अपेक्षा गरिएको छ।
हुआङको पुनरागमनले एनभिडियाको भविष्यमा कस्तो प्रभाव पर्ला ?
हुआङको पुनरागमनले तत्कालका लागि एनभिडियाको नेतृत्वसम्बन्धी अनिश्चितता हटाएको छ। उनी कम्पनीका संस्थापक मात्र होइनन्, एआई चिप, डाटा सेन्टर र उच्च कार्यक्षमतायुक्त कम्प्युटिङको विश्वव्यापी विस्तारमा कम्पनीको रणनीति निर्माण गर्ने प्रमुख व्यक्ति पनि हुन् । उनको नेतृत्वमा कम्पनीले एआई उद्योगमा आफ्नो प्रभाव विस्तार गरेको छ । त्यसैले उनी बाहिरिँदा लगानीकर्ता, ग्राहक र व्यावसायिक साझेदारमा उत्पन्न अनिश्चितता हट्नु कम्पनीका लागि सकारात्मक पक्ष हो । तर अर्कोतर्फ ट्रम्पको प्रत्यक्ष हस्तक्षेपबाट भएको पुनर्बहालीले कम्पनीको सञ्चालक समितिको स्वतन्त्र निर्णय क्षमतामाथि प्रश्न खडा गरेको छ। व्यक्तिगत आचरण र सम्भावित राष्ट्रिय सुरक्षा जोखिमबारे अनुसन्धान पूरा नहुँदै नेतृत्वमा फर्काइएको विषयले भविष्यमा कम्पनीको संस्थागत सुशासन र विश्वसनीयतामा असर पार्न सक्छ ।विशेषगरी चीनमा चिप निर्यातसम्बन्धी अनुसन्धानबाट नयाँ तथ्य बाहिरिएमा कम्पनी र अमेरिकी प्रशासन दुवै थप दबाबमा पर्न सक्छन् ।
यसर्थ हुआङको पुनरागमनलाई तत्कालका लागि एनभिडियाको नेतृत्व संकटको समाधानका रूपमा हेर्न सकिए पनि दीर्घकालीन सफलता उनको नेतृत्व क्षमतासँगै कम्पनीले अनुसन्धान, पारदर्शिता, निर्यात नियन्त्रण र कर्पोरेट सुशासनमा कस्तो प्रदर्शन गर्छ भन्नेमा निर्भर हुनेछ । अमेरिकी राजनीतिमा ट्रम्पले यस घटनामार्फत एउटा स्पष्ट सन्देश दिएका छन्- एआई प्रतिस्पर्धामा विश्वको नेतृत्व कायम राख्न अमेरिकाले आफ्ना असाधारण प्रविधि प्रतिभालाई गुमाउन चाहँदैन। तर त्यो लक्ष्य हासिल गर्ने नाममा राष्ट्रिय सुरक्षा र संस्थागत जवाफदेहितासँग सम्झौता गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि उठाएको छ।














प्रतिक्रिया दिनुहोस्