काठमाडौं । ग्लोबल आइएमई बैंक अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलबाट दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा अवार्ड प्राप्त गरेको हो ।
ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षाअनुसार आधुनिक प्रविधिमा आधारित नवीन बैंकिङ सेवा तथा सुविधाको विकास र विस्तारमा पुर्याएको योगदानको कदरस्वरूप बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । विशेषगरी भिसाअन्तर्गतका डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई थप मूल्य अभिवृद्धि हुने सेवा र सुविधा उपलब्ध गराएको आधारमा बैंक सम्मानित भएको जनाएको छ । ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहकलाई सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ ।
बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ । यसैगरी, युरोमनी अवार्ड फर एक्सिलेन्सअन्तर्गत सन् २०२२, २०२४ र २०२५ मा सम्मानित हुनुका साथै ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ लगायतका पुरस्कारसमेत प्राप्त गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ सेवा केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ । यसबाट वैदेशिक रोजगारी तथा विदेशमा रहेका नेपालीले पठाउने रकमलाई औपचारिक वित्तीय प्रणालीमार्फत देशभित्र ल्याउन र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । बैंकका अनुसार भिसा इन्टरनेशनलका दुई विधामा प्राप्त पछिल्ला अवार्डले डिजिटल भुक्तानी, उत्पादन नवप्रवर्तन र ग्राहककेन्द्रित सेवाको विस्तारमा ग्लोबल आइएमई बैंकले अघि बढाएको पहललाई थप अन्तर्राष्ट्रिय मान्यता दिएको छ ।















प्रतिक्रिया दिनुहोस्