ललितपुर । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले अब नेपालमा दैनिक खरिद तथा भुक्तानीका लागि नगद र विदेशी मुद्रा सटहीमा मात्रै निर्भर रहनुपर्ने छैन । फोनेपेले नबिल बैंकसँगको सहकार्यमा अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गर्दै डिजिटल भुक्तानी एप ‘नेपाल नाउ’ सार्वजनिक गरेको छ ।
नेपालको विस्तारित डिजिटल भुक्तानी प्रणालीमा विदेशी पर्यटकलाई समेत जोड्ने उद्देश्यले ल्याइएको यस एपमार्फत पर्यटकले देशभरका फोनेपे क्यूआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूमा सहजै भुक्तानी गर्न सक्नेछन् । एपको आधिकारिक विवरणअनुसार नेपालभर १९ लाखभन्दा बढी मर्चेन्ट स्थानमा फोनेपे क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ ।
नेपालको डिजिटल भुक्तानी प्रणालीमा स्थानीय उपभोक्ताले व्यापक रूपमा प्रयोग गर्दै आएको क्यूआर प्रविधिको सुविधा अब अन्तर्राष्ट्रिय पर्यटकले समेत लिन सक्नेछन् । यसले होटल, रेस्टुरेन्ट, यातायात, पसल तथा अन्य व्यवसायमा भुक्तानी प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ । नेपाल नाउ प्रयोग गर्न पर्यटकले आफ्नो वैध राहदानी, नेपाल प्रवेशाज्ञा (भिसा) तथा आवश्यक सम्पर्क विवरण राखेर एपमा दर्ता गर्नुपर्नेछ। पहिचान तथा भिसा प्रमाणीकरणपछि एपमा प्रिपेड कार्ड सिर्जना गरी अन्तर्राष्ट्रिय भिसा, मास्टरकार्ड वा युनियनपे कार्डमार्फत रकम लोड गर्न सकिने व्यवस्था छ।
रकम लोड भएपछि पर्यटकले एपबाटै फोनेपे क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। यसरी विदेशी कार्डबाट रकम लोड गरेर नेपालको आन्तरिक क्यूआर भुक्तानी सञ्जाल प्रयोग गर्न सकिने भएकाले पर्यटकलाई स्थानीय बैंक खाता वा नेपाली भुक्तानी एपको छुट्टै व्यवस्था गर्नुपर्ने झन्झट कम हुनेछ। फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारका अनुसार नेपाल नाउमार्फत नेपालको डिजिटल भुक्तानी पूर्वाधारलाई अन्तर्राष्ट्रिय पर्यटकसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ ।
उनले नेपालको क्यूआर भुक्तानी प्रणालीले व्यापक सञ्जाल निर्माण गरिसकेको उल्लेख गर्दै उक्त पूर्वाधारलाई नेपाल आउने विश्वभरका पर्यटकका लागि समेत सहज रूपमा उपलब्ध गराउने अवसर रहेको बताए । उनका अनुसार यस पहलले पर्यटकको दैनिक भुक्तानीलाई सहज बनाउनुका साथै स्थानीय व्यवसाय तथा मर्चेन्टहरूलाई अन्तर्राष्ट्रिय ग्राहकसँग जोडिने थप अवसर सिर्जना गर्नेछ । नेपाल नाउको सुरुवातलाई नेपालको डिजिटल भुक्तानी प्रणाली र पर्यटन क्षेत्रबीचको सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ । पर्यटकलाई डिजिटल भुक्तानीमा सहज पहुँच उपलब्ध हुँदा नगद कारोबारमा निर्भरता घट्नुका साथै स्थानीय व्यवसायको कारोबार र डिजिटल भुक्तानीको प्रयोगसमेत बढ्न सक्ने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्