काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले खेलकुद संस्कृतिको प्रवर्द्धन तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबीच आपसी सम्बन्ध र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने भएको छ ।
बैंकका अनुसार प्रतियोगिता यही मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा सञ्चालन हुनेछ। दुई दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न क्षेत्रका खेलप्रेमी तथा गल्फप्रेमी व्यक्तिहरूको सहभागिता रहनेछ । खेलकुद, प्राकृतिक सौन्दर्य र आपसी सद्भावलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित आयोजना हुन लागेको प्रतियोगिताले सहभागीहरूलाई खेलसँगै मनोरञ्जन र सम्बन्ध विस्तारको अवसर प्रदान गर्ने बैंकको विश्वास छ ।
प्रतियोगितालाई थप आकर्षक बनाउन विभिन्न विधाका विजेताका लागि विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको ‘होल इन वान’ विजेताले आधुनिक स्कोडा एसयूभी प्राप्त गर्नेछन् । त्यस्तै, अन्य विधाका विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । प्रतियोगिताको आयोजनामा आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लु तथा बाराहसिंघेको सहकार्य रहेको छ ।
ग्लोबल आइएमई बैंकले खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यमका रूपमा मात्र नभई सामाजिक सम्बन्ध विस्तार र विभिन्न क्षेत्रका व्यक्तिहरूबीच सहकार्यको वातावरण निर्माण गर्ने माध्यमका रूपमा समेत अघि बढाउन प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । बैंकिङ सेवासँगै सामाजिक तथा खेलकुद गतिविधिमा पनि आफ्नो उपस्थिति विस्तार गर्दै आएको ग्लोबल आइएमई बैंकले यस प्रतियोगितामार्फत ग्राहक, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा गल्फप्रेमीहरूबीच अन्तरक्रिया र सम्बन्ध विस्तार गर्ने अपेक्षा गरेको छ ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्न सफल निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ सेवा केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्