काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकिएको समयमा कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन नबुझाएकाले मन्त्रालयले मूल्याङ्कन गर्न नसकेको प्रस्ट पारेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठएका प्रश्नको जवाफमा मन्त्री खडकाले गत भदौ मसान्तमा बुझाउनुपर्ने कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन गत पुस मसान्तमा बुझाइएकाले कार्यकारी निर्देशक घिसिङको मूल्याङ्कन गर्न नसकिएको बताए । पटकपटक आग्रह गर्दा पनि घिसिङले मन्त्रालयलाई अटेर गरेर म्याद सकिएपछि मात्र मूल्याङ्कन गर्न भन्दै आफैँले नम्बर तोकेर प्रतिवेदन पठाएकाले समस्या भएको (शून्य अंक दिइएको) धारणा मन्त्री खड्काको छ ।
नीति नमान्दा कुलमानले कार्यसम्पादन मूल्यांकन शून्य पाएको बताएका उनले भने, “एउटा कर्मचारीलाई काँधमा बोकेर हिँड्दा गाउँघरतिर भन्छन् अलिक राम्रो छैन । बच्चालाई काँधमा बोकेको पिसाब फेरिदिएछ भन्छन् । त्यस्तो नहोस्। ”
डेडिकेटेड र ट्रङ्कलाइन बापत उठ्नपर्ने २२ अर्ब रुपैयाँ समेत प्राधिकरणको नाफाका रूपमा राखिएको पाइएको मन्त्री खड्काले उल्लेख गरे । विभिन्न विषयका कारण प्राधिकरणको नाफा एकिन गर्न नसकिएको भन्दै उनले वास्तविकता पत्ता लगाएर मात्रै शेयर बिक्री गरिने बताए ।
भारतबाट आयात गरिएको भन्दा नेपालबाट गरिने बिजुलीको निर्यात बढी हुने अवस्थामा पुगेको उल्लेख गर्दै मन्त्री खड्काले यस विषयमा आवश्यक अनुसन्धान गरिने उल्लेख गरे ।















प्रतिक्रिया दिनुहोस्