काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताएका छन्।
महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै उनले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताए । “अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरु पनि अघि सरुन्,” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको तथा कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणलाई सीप र रोजगारी सृजना हुने धारणा राखे । उहाँले
उद्योगले देशभित्र आफ्नै कागज प्रयोग गर्ने अवसरका साथै व्यापार घाटा सन्तुलनका लागि योगदान दिने विश्वास उनको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको जिकीर गरे।
यस्तै उनले, हुलाकी राजमार्ग, सुनकोसी मरिन लगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।” देशमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै उनले सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए ।
आइएमई ग्रुपले स्थापना गरेको देशकै ठूलो कागज उद्योग सञ्चालनमा आएसँगै देशमा कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी सिर्जना गरेको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्