काठमाडौं । दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोश्रो डिलरशिपको उद्घाटन गरेको छ। गोल्छा अर्गनाइजेशनअन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रा. लि. द्वारा सञ्चालन हुने दोस्रो डिलरशिपको काठमाडौंको उत्तरढोकामा आज उद्घाटन गरिएको हो ।
यो नयाँ शोरूमबाट विश्व प्रसिद्ध तीन ब्राण्डहरु–सिट्रोएन, लिप मोटर र प्यूजो ब्रान्डका गाडी एउटै छानामुनि ग्राहकहरुलाई उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
नयाँ डिलरशिपको उद्घाटन स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र साङ्ग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालले गरेकी हुन् ।

सो कार्यक्रममा प्रबन्धक निर्देशक शैलेश हजेलाले विश्व प्रसिद्ध ब्रान्डका विद्युतीय सवारी एकै स्थानमा नयाँ शोरुममार्फत ग्राहकलाई उपलब्ध गराउन पाउँदा खुशी लागेको उल्लेख गर्दै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘नेपाल हाम्रो अपरेशनको रणनीतिक बजार हो। हामी साङ्ग्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकहरुलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं। यो नयाँ शोरुममार्फत स्टेलान्टिसले अगामी युगका विद्युतीय सवारीसाधनसहित विश्वप्रसिद्ध प्रविधि र ब्राण्डहरू नेपाली बजारमा प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँछौं ।’
यस्तै, साङ्ग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाले नयाँ शोरुमलाई प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बनाउने विस्वास रहेको बताए ।
उनले भने, ‘यो नयाँ शोरूम हामीले उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता हो। सिट्रोएन, लिपमोटर र प्यूजो एकै स्थानमा उपलब्ध गराएर हामी नेपाली ग्राहकहरूका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्नेछौं भन्ने विश्वास लिएका छौं। यस विस्तारले ग्राहकको विश्वास र ब्राण्डप्रतिको प्राथमिकता झनै मजबुत बनाउनेछ। ’

















प्रतिक्रिया दिनुहोस्