काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सम्भावना अधिक रहेको भन्दै युवाहरुलाई आफ्नै देशमा काम गर्ने वातावरण खोज्न आग्रह गरेका छन् ।
आजदेखि काठमाडौंमा सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलन २०८२ को उद्घाटनमा अध्यक्ष ढकालले नेपाल सम्भावना नै सम्भावनाको भरिपूर्ण देश रहेको बताए । उनले देशमा केही छैन भन्ने गलत भाष्यलाई परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष ढकालले भने, “ म भन्छु ,नेपालमा जति सम्भावना अन्त कतै छैन् । इमान्दारिताको साथ काम गरे नेपालमा हरेक क्षेत्रमा सम्भावनाहरु रहेका छन् । ती सम्भावनाहरु उजागर गर्न सक्नु पर्दछ । हामीले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्दै यही माटोमा सम्भावना खोज्नु पर्दछ । ”
उनले बैंक तथा वित्तीय संस्थाहरुले काम गर्न चाहनेका लागि सहजै लगानी उपलब्ध गराउँदै आएको उल्लेख गर्दै अन्य संघसस्थाले समेत सहकार्यका लागि साझेदारी निभाउने धारणा राखे ।
देशको जनसंख्याको ठूलो हिस्सा ओगटेको युवा शक्ति देशको मेरुदण्ड भएको बताउँदै अध्यक्ष ढकालले ऊर्जा, जोश, सिर्जनशीलता र नवीन सोचले भरिपूर्ण रहेका युवाहरूलाई नेतृत्व र व्यक्तित्व विकास सँगसँगै उद्यमशीलताको क्षेत्रमा समेत अगाडी बढाउँदै लैजानु पर्नेमा जोड दिए ।
ढकालले युवाहरूको नेतृत्व विकास तथा सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने नेपाल जेसीजको प्रयासको प्रशंसा गर्दै नवप्रवर्तन, उद्यमशीलतामार्फत नेपाललाई समृद्ध, आत्मनिर्भर र गतिशील राष्ट्र बनाउने दिशामा काम गर्न युवाहरुलाई आग्रह गरे ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्