नवलपरासी । निजी प्रयोजनका लागि दर्ता गरिएका रातो नम्बर प्लेटको सवारीसाधनलाई गण्डकी प्रदेश सरकारले भाडाका सवारीसाधन सरह प्रयोग गर्न दिन लागेको भन्दै यातायात व्यवसायीले गरेको आन्दोलनका कारण यात्रुले सास्ती पाएका छन् ।
गण्डकी प्रदेश सरकारले गरेको निर्णयको विरोधमा व्यवसायीले यात्रुवाहक सार्वजनिक सवारीसाधन ठप्प पार्दा यात्रुहरूले सास्ती पाएका हुन् । यात्रुबाहक सवारीसाधन सञ्चालन नभएपछि छोटो दूरीको यात्रा गर्ने यात्रु पैदल तथा तीन पाङग्रे अटोरिक्सा र राइड शेयरिङमार्फत गन्तव्यतर्फ लागे पनि टाढा जाने यात्रु सडक किनारमा सवारीसाधनको प्रतिक्षामा बसेका छन् । चर्को घाममा राजमार्गको छेउमा सवारीसाधन कुरेर बस्दा निकै सास्ती खेप्नुपरेको यात्रुको गुनासो छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटबाट बुटवलका लागि हिँडेकी राधिका क्षेत्रीले गाडी नचल्दा निकै दुःख पाएको सुनाइन् । काखमा नाबालक छोरा बोकेर चर्को घाममा सवारीसाधन कुर्दैै गरेकी उनले यात्रुलाई यसरी दुःख दिने कार्य बन्द गर्नुपर्ने बताइन् । ‘चर्को घाममा गाडी कुरेर बस्नुपरेको छ, उता गर्मीले बच्चा रोइरहेको छ,’ उनले भनिन्, ‘जानैपर्ने काम भएर बुटवल हिँडेको गाडी कुरेर तीन घण्टा भइसक्यो ।’ यात्रु बस बन्द भए पनि मालबाहक ट्रकमै यात्रा गर्न ट्रक रोक्दा उनीहरूलेसमेत लैजान नमानेको क्षेत्रीको भनाइ छ । ‘जसले जे माग राखेर आन्दोलन गर्दा पनि यात्रुले दुःख पाउँछन् । अत्यावश्यक सेवा मानिने सार्वजनिक सवारीसाधन बन्द गर्न नपाइने नियमको समेत पालना हुनसकेको छैन ।’
बुटवलका केशव शर्मा पनि वैदेशिक रोजगारबाट फर्किएर घर जान खोज्दै थिए । राति नारायणघाटमा बास बसेर बिहान बुटवल जान लागेका उनले गाडी नपाउँदा सास्ती भएको बताए । ‘हिजो आउँदा राति भयो, थकाइ लागेकाले नारायणघाटमा बास बसेँ । बिहान उठेर बुटवल जान गाडी कुर्दा गाडी नपाएपछि हिँडेर गैँडाकोटसम्म आएको छु, अहिले घर पुग्ने बेला भइसक्यो तर यतिकै बस्नुपरेको छ ।’
यातायात व्यवसायीको सम्बोधन नहुने कुरामा सवारीसाधन बन्द गरेर यात्रुलाई दुःख दिन नहुने शर्माले बताए । केही यात्रु भने राइड शेयरिङ र तीन पाङ्ग्रे अटोमार्फत चर्को भाडा तिरेर गन्तव्यमा जान राजमार्गमा आउँदा सार्वजनिक सवारीसाधन नचलेपछि दुःखी छन् । ‘चितवनको टाँडीबाट पठाओ गरेर यहाँसम्म आएँ,’ गुल्मीका प्रिन्स शाहीले भने, ‘बिहान ५ बजे गैँडाकोट आइपुगेको अहिलेसम्म गाडी चलेको छैन, घरमा छोरो आउँछ भनेर आमाबाले बाटो कुर्दै होलान् ।’ गाडी बन्द हुन्छ भन्ने थाहा नभएर घरमा जान हिँडेको भन्दै शाहीले सरकारले व्यवसायीको कुरा नसुन्दा आफूहरूले दुःख पाएको गुनासो गरे ।
‘सरकारले व्यवसायीको माग सुनिदिएको भए बन्द हुने थिएन होला,’ उनले भने, ‘नेपालमा आफ्नो माग पूरा भएन भने बन्द गर्यो, आन्दोलन गर्यो यो त चलेकै रीति हो । तर, यात्रुहरूलाई कहाँ जानु छ, बिरामी हुन्छन्, काममा जनुपर्छ यो बारे नसोचेपछि दुःख पाउने हामी जनताले नै हो ।’ आफ्नो माग पूरा गराउने नाममा बन्द गर्नु राम्रो पक्ष नभएको उनको धारणा छ । यातायात व्यवसायी भने आफूहरूले यात्रुलाई दुःख नदिएको दाबी गर्दै आएका छन् । यातायात व्यवसायी दीपक मिश्रले सरकारले आफूहरूको कुरा नसुनेसम्म र निजी प्रयोजनका लागि खरिद गरिएको सवारीसाधनलाई यात्रु बोक्न दिने निर्णय नसच्याएसम्म गाडी नचलाउने बताए । ‘भाडाको गाडीले मात्रै सवारी बोक्न पाउनुपर्छ, निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई यात्रु बोक्न दिनु हुँदैन । हाम्रो यो माग सम्बोधन भयो भने गाडी खुल्छ होइन भने हाम्रो बन्द अनिश्चितकालीन हो । ’
सार्वजानिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै आजदेखि देशभर यात्रुवाहक सार्वजनिक सवारीसाधन अनिश्चित कालका लागि ठप्प परेको जनाएको छ । व्यवसायीले राखेको मागप्रति सरकार गम्भीर नबन्दा गरिएको सवारीसाधन बन्दले देशभरका यात्रुहरूले दुःख मात्रै पाएका छैनन् अत्यावश्यक कामसमेत ठप्प भएको छ ।















प्रतिक्रिया दिनुहोस्