काठमाडौं । नेपालको ठेगाना प्रणालीलाई व्यवस्थित गर्ने उद्धेश्यसहित सञ्चालनमा आएको ‘कताहो’ एपले ७७ वटै जिल्लाका लागि डिलरको माग गरेको छ ।
नवप्रवर्तनको क्षेत्रमा काम गर्दै आएको रामलक्ष्मण ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रालिले सार्वजनिक गरेको उक्त डिजिटल ठेगाना प्लेटका लागि कम्पनीले आज एक सूचनामार्फत ७७ वटै जिललाका लागि डिलरको माग गरेको ।
‘नेपालकै अनुसन्धानकर्ताहरुले तयार पारेको नेपालको पहिलो डिजिटल ठेगाना प्रणालीले देशभर प्रत्येक घरधुरीको आफ्नै डिजिटल ठेगाना तयार गरी विद्युत, खानेपानी, इन्टरनेट लगायतका सेवा प्रदायकका लागि तत्काल ठेगाना प्लेट र ग्राहक नम्बर प्रदान गर्न सक्छ ।’ सूचनामा थप भनिएको छ, ‘हराएको सामान, बाईक तथा गाडी एरपोर्टको लगेज फेला पार्न सहयोग गर्ने क्यु आर ट्यागको लागि प्रत्येक जिल्लामा आईटी तथा डिजिटल प्लेटफर्ममा काम गर्न इच्छुक भ्याटमा दर्ता भएका कम्पनी तथा फर्महरुले सम्पर्क गर्नुहोला ।’
कम्पनीले आजको मितिले १५ दिन भित्र सम्पर्क गर्न आग्रह गरेको छ । कम्पनीका अनुसार यस प्लेटफर्मबाट देशको सम्पूर्ण भूभागलाई करिब १५ अर्ब दुई करोड प्लट (टुक्रा) मा विभाजन गरी हरेक टुक्राका लागि नेपाली शब्द र अङ्क मिलाएर एउटा भिन्न नाम दिइएको छ ।
यस प्रणालीको सहायताले जुनसुकै ठाउँ पत्ता लगाएर त्यहाँसम्म पुग्न सक्ने गरी एप तयार पारिएको छ । आफ्नो ठेगाना बनाउन र पत्ता लगाउन यो प्रणालीले अफलाइनमा समेत काम गर्न सक्नेछ । एपमार्फत घरको ठेगाना प्लेट बनाउन, गुगलको प्लस कोड, डोर बेल बजाउने क्यूआर सँगै आफ्नो निवासको नाम आफैं राख्न सकिनेलगायतका विविध विशेषता रहेको कम्पनीले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्