काठमाडौं। प्रोग्रेशिभ फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल पेमेन्ट स्वीच (एनपीएस एनसीएस) तथा डोमेस्टिक कार्ड स्किम अन्तर्गत ‘नेपाल पे’ कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक सम्झौता भएको छ।
सम्झौतापत्रमा प्रोग्रेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधार तयार भइसकेको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई ‘नेपाल पे’ कार्ड इस्यू तथा अक्वायर गर्नका लागि आफ्नो स्विच सिस्टममा इन्टिग्रेट हुन आह्वान गरेपछि प्रोग्रेशिभ फाइनान्सले पनि सहभागिता जनाएको हो। अब, कमर्सियल रोलआउटपछि प्रोग्रेशिभ फाइनान्सले आफ्ना ग्राहकहरूलाई नेपाल पे कार्ड इस्यू तथा प्रयोगका सुविधा प्रदान गर्न सक्नेछ।
नेपाल पे प्रणालीमार्फत विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्ट एकीकृत रूपमा गरिनेछ। यस प्रणालीको कार्यान्वयनपछि डोमेस्टिक कार्ड प्रयोगको लागत घट्ने, डाटा लोकलाइजेशन सुनिश्चित हुने, तथा डिजिटल पेमेन्ट इकोसिस्टममा नवीन प्रविधिहरूको विकास र प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
हाल एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, प्रमुख पेमेन्ट सिस्टम अपरेटर (पीएसओ) तथा पेमेन्ट सेवा प्रदायक (पीएसपी) र १०० भन्दा बढी गैर-बैंकिङ्ग सदस्यहरूमार्फत विभिन्न राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आइरहेको छ।

















प्रतिक्रिया दिनुहोस्