images images images
images images images
images
images
images

केन्द्रीय बैंकद्वारा आज पुनः २५ अर्बको ऋणपत्र जारी

images

काठमाडौं । केन्द्रीय बैंकले आज २५ अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरेको छ । लामो समयदेखि वित्तीय प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बुधबार एक वर्षका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको हो ।

वित्तीय प्रणालीमा करिब तीन वर्षदेखि ऋण दिन मिल्ने रकम (अधिक तरलता)थुप्रिएको छ । तरलता व्यवस्थापनकै लागि राष्ट्र बैंकले नियमित रूपमा साताको दुई दिन (आइतबार र बुधबार) बजारबाट पैसा झिक्दै आएको छ । यसका लागि राष्ट्र बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा (एसडीएफ) उपकरण प्रयोग गर्दै छोटो अवधिदेखि ६ महिनासम्मका लागि बजारबाट पैसा झिक्ने गरेको छ ।

images
images

केन्द्रीय बैंकले वित्तीय क्षेत्रमा विद्यमान अधिक तरलताको दीर्घकालीन व्यवस्थापनका लागि ‘राष्ट्र बैंक ऋणपत्र’ उपकरण प्रयोगमा ल्याएको छ । सोही अनुसार बुधबार पनि बैंकले एक वर्षको लागि २५ अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको हो । बोलकबोल गर्न चाहनले बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म भाग लिन पाउने केन्द्रीय बैंकले सूचनामार्फत जनाएको छ । उक्त रकमको व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने छ । बोल गर्न सकिने रकम न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम सम्म हुनुपर्ने छ।

जुन रकम केन्द्रीय बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने छ। ऋणपत्रको बोलकबोल व्याजदरमा गर्नुपर्नेछ। बहुव्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । साथै, ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपाटी) मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र व्याजदर (दशमलव पछिको हकमा ४ अंकसम्म) उल्लेख गर्नु पर्नेछ । राष्ट्र बैंकले आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको व्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने व्याजदरलाई एकल व्याजदर कायम गरी सोही एकल व्याजदरमा यो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने छ।

समान व्याजदर बोल गर्ने बोलवालाहरूको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी हुने भएमा सो व्याजदरको रकमलाई समानुपातिक रूपमा बाँडफाँट गरिने समेत उल्लेख छ । आह्वान गरिएको बील रकममध्ये सम्पूर्ण वा आआंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिसँग हुनेछ ।

निष्कासनको शर्त बमोजिमको एक वर्ष अवधिमा निर्धारित व्याज रकम तथा परिपक्व अवधिमा साँवा रकम बैंकले सम्बन्धित काउण्टरपाटीको बैंकमा रहेको खातामा जम्मा गरिदिने जनाएको छ। आज बोलकबोल हुने उक्त ऋणपत्रको साँवा भुक्तानी आगामी २०८३ पुस १६ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।

‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३’ लामो अवधि (एक वर्षभन्दा बढी) का लागि बजारबाट पैसा झिक्न राष्ट्र बैंकले प्रयोगमा ल्याएको मौद्रिक उपकरण हो । बैंकले १० वर्षपछि पहिलो पटक उक्त ऋणपत्र जारी गरेको हो । यसअघि आर्थिक वर्ष २०७२/७३ मा यही उपकरणमार्फत ४९ अर्ब ०८ करोड रुपैयाँ बजारबाट निकालेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्