काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका छन्।हाल स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढेर बोर्ड आर्थिक दबाबमा परेको मात्र छैन् बीमा कार्यक्रम नै सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको छ । यस्तो बेला निर्देशक काफ्लेको राजीनामा आएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको जानकारी दिए । उनको राजीनामाबारे छलफल गरिरहेको प्रवक्ता बुढाथोकीले बताए । ‘आवयक निर्णयका लागि राजीनामाको व्यहोरा मन्त्रीपरिषद्मा पेश गछौँ’, उनले भने । काफ्ले गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक अस्पतालहरुलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ। तर, अर्थ मन्त्रालयले यही मोडलमा बीमा कार्यक्रम चलाउन थप अनुदान दिन नसक्ने बताइसकेको छ । जसकारण भुक्तानी लिन बाँकी ठूला सरकारी अस्पतालले सूचना नै निकालेर स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरिसकेका छन् ।
त्रिवि शिक्षण अस्पतालले माग १ गतेबाटै स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरिसकेको छ । अस्पतालले स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको भन्दै सेवा बन्द गराएको हो । अस्पतालले स्वास्थ्य बीमामार्फत बीमितको उपचार गरेवापत बोर्डबाट करिब ४० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उल्लेख गरेको थियो ।
यस्तै, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले पनि माग १ गतेबाटै स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको छ। अस्पतालले बीमामार्फत बीमितको उपचार गरेवापत बोर्डबाट १४ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । आन्तरिक स्रोतले धान्न नसक्ने भएपछि कार्यक्रम नै बन्द गराएको अस्पतालले जनाएको छ । यसरी धमाधम अस्पतालले सेवा बन्द गराउँदा बीमित नागरिकले सेवाबाटै बञ्चित हुनुपरेको छ । कतिपय अस्पतालहरु भने बीमा कार्यक्रम बन्द गर्ने तयारीमा छन् । उनीहरुले सरकारले छिटो भुक्तानी नगरे बीमा कार्यक्रम तत्काल बन्द गर्ने तयारीमा छन् ।
हाल सरकारले बोर्डलाई आवश्यक सहयोग नगर्दा बीमा कार्यक्रम नै संकटमा परेको छ।
















प्रतिक्रिया दिनुहोस्