काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रको विकास आगामी निर्वाचनमा दलहरुको साझा एजेण्डा बन्नुपर्ने बताएका छन् ।
बुधबार स्याङ्जामा आयोजित वालिङ महोत्सवको उदघाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेण्डालाई प्राथमिकता दिन र सबैको साझा एजेण्डा बनाउन आग्रह गरेका हुन् । अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरुले आआफ्ना चुनावी घोषणापत्र लेख्ने तयारी गरिरहेकाले ती घोषणापत्रमा देशको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सार्दै आएका एजेण्डाहरुलाई पनि समावेश गर्न आग्रह गरेका छन् ।
उनले औद्योगिक विकासका माध्यमबाट देशमा आर्थिक विकास गर्न र देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्न निजी क्षेत्रले विगत लामो समयदेखि प्रयास गरिरहेको र यस्तै एजेण्डाहरु राज्यसामु राख्दै आएकाले आगामी निर्वाचनमा पनि ती एजेण्डाले प्राथमिकता पाउनुपर्ने पनि बताए । अध्यक्ष ढकालले देशमा आर्थिक लगानीको वातावरणका लागि अवरोध बनेका कतिपय कानुनहरुको संशोधन गराउन देखि महासंघको विधानलाई समय सापेक्ष बनाउने सम्मका काम आफू महासंघको नेतृत्वमा अएपछि सम्पन्न भएको पनि स्मरण गराए ।

















प्रतिक्रिया दिनुहोस्