काठमाडौं । पोर्चुगलमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाहरूले समुदायको हितका लागि आपसी सहकार्य र संस्थागत सुदृढीकरण गर्ने निर्णय गरेका छन्। सुजन लामा मोकतानको अध्यक्षतामा बसेको बैठकले नेपाली समुदायका जल्दाबल्दो समस्या समाधान गर्न र साझा उद्देश्य प्राप्त गर्न संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका सचिव सुरज भण्डारीका अनुसार, बैठकले समुदायसँग जोडिएका विविध पक्षमा छलफल गर्दै आगामी दिनमा एकीकृत ढंगले काम गर्ने सहमति गरेको छ। साथै, दूतावाससँग समन्वय गरी नेपाली कामदारहरूले भोग्दै आएको प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी समस्यालाई समाधान गर्न पहल गर्ने तथा पहिलो पटक कागजात पेश गर्ने नेपालीहरूका लागि दूतावासबाट जारी हुने ‘डिक्लेरेशन’ निःशुल्क उपलब्ध गराउन अनुरोध गर्ने सहमति भएको छ।
यसैगरी, पोर्चुगलमा रहेका नेपालीहरूलाई पर्ने आकस्मिक विपद् वा मृत्युजस्ता दुःखद घडीमा नैतिक, आर्थिक र सामाजिक सहयोग जुटाउन सबै संस्थाहरूले संयुक्त पहल गर्ने एवं गैरआवासीय नेपाली संघ पोर्चुगललाई सबैको साझा र एकीकृत छाता संगठनका रूपमा मजबुत बनाउन पहल गरिने तथा सबै संघ–संस्थाहरूले एक–अर्काको अस्तित्व स्वीकार गर्दै रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता समेत जनाएका छन् ।
यस एकताले पोर्चुगलमा रहेका नेपालीहरूको हकहित संरक्षणमा नयाँ विश्वास थप्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्