काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को परीक्षाफल परीक्षा सम्पन्न भएको करिब एक महिनामै सार्वजनिक हुनु राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताको महत्वपूर्ण उदाहरण भएको बताएका छन् ।
मन्त्री पोखरेलले लाखौं विद्यार्थी तथा अभिभावकको प्रतीक्षालाई छोटो समयमा सम्बोधन गर्न सम्भव बनाउने कार्यमा परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसम्म खटिएका सम्पूर्ण शिक्षक–शिक्षिका, कर्मचारी, सुरक्षा निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन् ।
उनले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्थालगायत सुधारात्मक प्रयासका कारण समयमै नतिजा सार्वजनिक गर्न सम्भव भएको उल्लेख गरिन्।
उत्तीर्ण गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा आगामी यात्राका लागि शुभकामना दिँदै पोखरेलले विद्यार्थीहरूको सफलता निरन्तर मेहनत, अनुशासन, अभिभावकको साथ तथा गुरुहरूको समर्पित मार्गदर्शनको प्रतिफल भएको बताए ।
उनले अब यही सुधार र गतिलाई कक्षा १२, स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्दै परीक्षा प्रणालीलाई थप व्यवस्थित, छिटो, विश्वसनीय र विद्यार्थीमैत्री बनाउने दिशामा शिक्षा मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारे ।
त्यस्तै, अपेक्षाअनुसार नतिजा प्राप्त गर्न नसकेका विद्यार्थीलाई निराश नहुन आग्रह गर्दै मन्त्री पोखरेल एउटा परीक्षाले मात्र जीवनको सम्पूर्ण भविष्य निर्धारण नगर्ने उल्लेख गरेकी छन्। धैर्यता, आत्मविश्वास र पुनः प्रयास गर्ने साहस नै सफलताको आधार भएको भन्दै उनले नयाँ उत्साहका साथ अघि बढ्न विद्यार्थीलाई आग्रह गरेका छन् ।

















प्रतिक्रिया दिनुहोस्