Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

यात्रु घटेपछि बुद्धएयरले रोक्यो नेपालगञ्ज–पोखरा उडान

यात्रु घटेपछि बुद्धएयरले रोक्यो नेपालगञ्ज–पोखरा उडान
विज्ञापन
Advertisement

नेपालगञ्ज ।  बुद्धएयरले करिब पाँच वर्षदेखि सञ्चालन गर्दै आएको नेपालगञ्ज–पोखरा सिधा उडान अस्थायी रूपमा स्थगित गरेको छ । भारतीय धार्मिक पर्यटकको सङ्ख्या घट्नु र इन्धन खर्च बढ्नुका कारण उडान एक महिनाका लागि रोकिएको कम्पनीले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुद्धएयर नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहका अनुसार मलमासका कारण भारतबाट आउने धार्मिक पर्यटकको चाप घटेको र इन्धन मूल्य महँगिएकाले नेपालगञ्ज–पोखरा उडान केही समयका लागि स्थगित गरिएको हो । मंगलबारदेखि उडान रोकिएको उनले जानकारी दिए ।

पर्यटन प्रवर्द्धन तथा भारतीय यात्रुलाई सहजता दिने उद्देश्यले विसं २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन उक्त उडान सञ्चालन हुँदै आएको थियो ।

उडान स्थगित भएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी र सर्वसाधारण निराश बनेका छन् । अब यात्रुले फेरि सडकमार्गबाट करिब १४ घण्टाको यात्रा गर्नुपर्ने अवस्था आएको छ ।

एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को पहलमा सुरु भएको उक्त सेवाले पोखराबाट नेपालगञ्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानीरारा ताल जस्ता पर्यटकीय गन्तव्यमा पुग्न सहज बनाएको थियो । साथै भारतका लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकलाई पनि पोखरा पुग्न सुविधा भएको थियो ।

नाट्टा नेपालगञ्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले बुद्धएयरले नियमित तालिकाअनुसारको उडान रोकेको जानकारी आएको बताए । निजी क्षेत्रको पहलमा सञ्चालनमा आएको सेवा सरकारी सहयोग अभावका कारण बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

बुद्धएयरले १८ सिट क्षमताको बीचक्राफ्ट १९०० डी सिरिज विमानमार्फत सेवा दिँदै आएको थियो । उडान सुरु हुँदा न्यूनतम भाडा चार हजार ९३५ रुपैयाँदेखि अधिकतम सात हजार ६३५ रुपैयाँसम्म निर्धारण गरिएको थियो ।

कम्पनीका अनुसार इन्धन मूल्यवृद्धिपछि भाडादर समायोजन गर्दा यात्रु चाप घटेकाले सेवा स्थगित गर्नुपरेको हो । यात्रु सङ्ख्या बढेमा पुनः नियमित उडान सञ्चालन गर्ने सम्भावना रहेको जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit