काठमाडौं । परराष्ट्र मन्त्रालयले राहदानी (पासपोर्ट) वितरण सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन नयाँ प्रणाली लागू गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सोबारे आधिकारिक जानकारी दिए । प्रवक्ता क्षेत्रीका अनुसार नयाँ आपूर्तिकर्ताबाट २ लाख ५० हजार थान राहदानी आपूर्ति भइसकेको छ भने वैयक्तीकरणको परीक्षण उत्पादन समेत सफलतापूर्वक सम्पन्न भइसकेको छ ।
नयाँ प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आगामी मङ्गलबार (१२ जेठ) राहदानीको End-to-End प्रणाली परीक्षणको कार्यतालिका तय गरिएको छ । उक्त परीक्षण सफल भएलगत्तै प्रणाली पूर्ण रूपमा तयार हुने मन्त्रालयले जनाएको छ। त्यसपछि देशभरका जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा नयाँ प्रणाली जडान गर्ने कार्य सुरु गरिनेछ।
असार महिनाको अन्तिम हप्तादेखि पुरानो प्रणालीलाई पूर्ण रूपमा बन्द गरी नयाँ प्रणाली कार्यान्वयनमा ल्याउने गरी तीव्र तयारी भइरहेको छ । हाल राहदानी विभागको सेवा अत्यन्तै सहज र चुस्त रहेको मन्त्रालयले दाबी गरेको छ । सेवाग्राहीहरूलाई आफ्नो तोकिएको समयमा आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गर्दै विभागले ३० मिनेटभित्रै आवेदन प्रक्रिया सकिने व्यवस्था मिलाएको उल्लेख गरेछ । ‘असार महिनाको अन्तिम हप्तादेखि पुरानो प्रणाली बन्द गरी नयाँ प्रणाली कार्यान्वयन गरिने गरी तयारी भइरहेको छ,’ प्रवक्ता क्षेत्रीले भने,‘हाल राहदानी सेवा सहज रहेको छ र सेवाग्राहीलार्इ ३० मिनेटमै आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ।’
हाल राहदानी विभागमा आवेदन दिएको भोलिपल्टै राहदानी जारी हुने गरेको छ । जिल्लारइलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा आवेदन दिएको ७ देखि १२ दिनभित्रमा राहदानी छपाइ गरी पठाइसकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । यसैगरी, सेवाग्राहीको निजी ठेगानामै राहदानी ढुवानी (होम डेलिभरी) गर्ने व्यवस्थाका लागि हाल हुलाक सेवा विभागसँग समन्वय भइरहेको प्रवक्ताले जनाकारी दिए ।
क्षेत्रीका अनुसार पुरानो प्रणालीबाट नयाँ प्रणालीमा जाँदा सेवाग्राहीलाई कुनै असुविधा नहोस् भन्नका लागि मन्त्रालयले विशेष ‘कार्यान्वयन योजना’ तयार गरी थप कार्य अगाडि बढाएको छ। हाल विभागसँग वर्तमान आपूर्तिकर्ताबाट प्राप्त कुल २,०७,५९३ थान राहदानी मौज्दात छ, जसमध्ये २,००,७३७ थान साधारण राहदानी रहेका छन् ।
नयाँ प्रणाली जडान र सङ्क्रमणकालीन व्यवस्थापनलाई ध्यानमा राख्दै आगामी पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीहरूलाई सकभर चालु जेठ मसान्तभित्रै राहदानीको आवेदन दिइसक्न प्रवक्ता क्षेत्रीले आग्रह गरे ।

















प्रतिक्रिया दिनुहोस्