काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको सिटिजन्स म्युचुअल फण्ड–२ ले सात वर्षे अवधि पूरा गर्दै इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद प्रतिफल दिन सफल भएको छ ।
नेपाली धितोपत्र बजारमा विभिन्न उतारचढाव र चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजनाले निरन्तर प्रतिफल वितरण गर्दै सात वर्षको यात्रा पूरा गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको उक्त बन्दमुखी सामूहिक लगानी कोष योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको थियो । ५६ करोड रुपैयाँ प्रारम्भिक कोष आकार रहेको योजनाले २०८३ असार २१ गते आफ्नो सात वर्षे अवधि पूरा गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सञ्चालन अवधिभर योजनाले इकाईधनीलाई प्रत्येक वर्ष नगद लाभांश वितरण गर्दै औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान गरेको हो । योजना परिपक्व भएपछि खारेजीसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम भुक्तानीसमेत सुरु गरिएको कम्पनीले जनाएको छ। पुँजी बजारमा विभिन्न समयमा आएको उतारचढाव, सेयर मूल्यमा देखिएको गिरावट र लगानीका चुनौतीपूर्ण परिस्थितिका बीच पनि योजनाले नियमित प्रतिफल दिनुलाई कम्पनीले उपलब्धिका रूपमा लिएको छ। लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै अनुशासित लगानी व्यवस्थापनमार्फत अपेक्षित नतिजा हासिल गर्न सफल भएको कम्पनीको भनाइ छ।
यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ मार्फत पनि सिटिजन्स क्यापिटलले इकाईधनीलाई औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गरेको थियो । दुईवटा बन्दमुखी योजनाको नतिजाले सामूहिक लगानी कोष व्यवस्थापनमा कम्पनीको अनुभव र क्षमतालाई थप स्थापित गरेको कम्पनीले जनाएको छ । हाल सिटिजन्स क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना र सिटिजन्स सन्तुलित योजनालगायतका सामूहिक लगानी कोष व्यवस्थापन गरिरहेको छ। यसै क्रममा कम्पनीले अर्को नयाँ बन्दमुखी योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने तयारीसमेत गरेको जनाएको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त उक्त योजनाको इकाई निष्कासन मंसिर २ गतेदेखि सुरु हुने तय भएको छ। १० वर्षे अवधि रहने योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ रहेको छ। लगानीकर्ताबाट प्राप्त माग तथा आवेदनको अवस्थाका आधारमा योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्याउन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्। नयाँ योजनामार्फत दीर्घकालीन लगानीको अवसर सिर्जना गर्नुका साथै सामूहिक लगानी कोषप्रति सर्वसाधारण तथा संस्थागत लगानीकर्ताको आकर्षण र सहभागिता विस्तार गर्ने कम्पनीको अपेक्षा छ।
सामूहिक लगानी कोष व्यवस्थापनमा आफ्नो संस्थागत क्षमता र गुणस्तरलाई पनि कम्पनीले प्राथमिकतामा राखेको छ । सिटिजन्स क्यापिटलले इक्रा नेपालबाट एएमसी क्वालिटी थ्री प्लस ९ब्ःऋ त्तगबष्तिथ घं० रेटिङ प्राप्त गरेको जनाएको छ । विगतका योजनाबाट प्राप्त अनुभव, दक्ष जनशक्ति र संस्थागत क्षमताको उपयोग गर्दै नयाँ योजनाको लगानी व्यवस्थापनलाई व्यवस्थित, अनुशासित र व्यावसायिक बनाउने कम्पनीको लक्ष्य रहेको छ।
सिटिजन्स क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन्। कम्पनीले संस्थागत सुशासन, लगानीकर्ताको हित संरक्षण र नेपालको पुँजी बजारको विकासलाई प्राथमिकतामा राखेर सामूहिक लगानी कोषसम्बन्धी सेवा विस्तार गर्दै आएको जनाएको छ । सिटिजन्स म्युचुअल फण्ड–२ को सात वर्षे यात्राको समापनसँगै सुरु भएको रकम फिर्ता प्रक्रिया र सिटिजन्स सुपर ५० को नयाँ निष्कासनले कम्पनीको सामूहिक लगानी कोष व्यवस्थापनसम्बन्धी गतिविधिलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्