काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनको बहसलाई सरकारी कार्यदलमा मात्र सीमित नराखी पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा एक शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न माग गरेका छन् ।
मङ्गलबार प्रतिनिधि सभा बैठकमा सांसद केसीले वर्तमान सरकारले गठन गरेको कार्यदलप्रति लक्षित गर्दै सत्ता केन्द्रित बहसले मात्र संविधान संशोधनको गम्भीर प्रक्रिया सफल हुन नसक्ने बताए । सांसद केसीले भने ‘संविधान संशोधन बहसका लागि पूर्वप्रधान न्यायाधीशको संयोजनमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गरी शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न जरूरी छ। उक्त आयोगमार्फत् राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलन आयोजना गर्नु अत्यावश्यक छ।’
सरकारले हालै प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजनमा ‘संविधान संशोधन बहस पत्र कार्यदल’ गठन गरेको छ, जसमा विभिन्न चरणमा सरोकारवालासँग छलफल गर्दै सुझाव संकलन गर्दै आएको छ।
सांसद केसीले देशको वर्तमान राष्ट्रिय जटिलता, वैदेशिक द्वन्द्व र बढ्दो सामाजिक ध्रुवीकरणको अवस्था औँल्याउँदै सत्ताको वरिपरि बसेर गरिने छलफलले मात्र राष्ट्रिय सहमति जुटाउन नसक्ने स्पष्ट पारे । ‘बृहत राष्ट्रिय संवादबाट मात्र यसले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमति निर्माण गर्न सक्छ,’ सांसद केसीले भने, ‘यस्तो प्रक्रियाले मात्र देशमा दीर्घकालीन स्थिरता, लोकतान्त्रिक विश्वास तथा राष्ट्रिय एकता र मेलमिलापको बलियो आधार तयार गर्न सक्छ।’

















प्रतिक्रिया दिनुहोस्