काठमाडौं । नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले नेपाललाई ईयूको एयर सेफ्टी सूची (कालोसूची) बाट हटाउन उड्डयन सुरक्षासम्बन्धी सुधारमा ठोस प्रगति आवश्यक रहेको बताएकी छन् ।
आज प्रधानमन्त्री बालेन्दै शाहसँग सामुहिक भेटवार्तापछि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको नयाँ सरकारले यो विषयलाई गम्भीरताका साथ उठाइरहेको र हरेक बैठकमा यसबारे छलफल हुने गरेको उल्लेख गरिन् । नेपालमा युरोपेली विमान (एटीआर र एयरबस) प्रयोग भए पनि प्रतिबन्ध जारी रहनुको कारण स्पष्ट पार्दै राजदूत लोरेन्जोले भनिन्, ‘समस्या विमानको उत्पत्तिभन्दा पनि समग्र सुरक्षा निगरानी प्रणालीसँग सम्बन्धित छ ।’
उनले ईयूले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकाय छुट्ट्याउन कानुनी रूपमा बाध्य नपारेको तर स्वार्थको द्वन्द्व रोक्न दुवै कार्य स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएको स्पष्ट पारिन् । ‘युरोपेली संघले सेवा प्रदायक र नियामकलाई छुट्याउन कानुनी परिवर्तन गर्न कहिल्यै भनेको छैन । स्वार्थको द्वन्द्व रोक्न दुवै कार्य स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्छ भन्नेमा हामीले जोड दिएका थियौं।’
सन् २०२३ को मूल्यांकनपछि नेपालले तयार गरेको सुधारात्मक कार्ययोजनामा पछिल्लो साढे दुई वर्षमा निकै कम प्रगति भएको उल्लेख गर्दै उनले अब नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशकसँग मिलेर काम गर्ने र आवश्यक गृहकार्य पूरा भएपछि मात्र प्रतिबन्ध हटाउने प्रक्रिया अघि बढ्ने उल्लेख गरिन्।
नेपालको पर्यटन विकासका लागि उड्डयन क्षेत्रमा अन्तर्राष्ट्रिय विश्वास पुनर्स्थापना गर्नु दुवै पक्षको साझा उद्देश्य रहेको उनको भनाइ थियो । नेपाल सन् २०१३ देखि ईयूको हवाई प्रतिबन्धमा रहँदै आएको छ ।

















प्रतिक्रिया दिनुहोस्