काठमाडौं । इन्धन तथा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीहरूको मागप्रति ऐक्यवद्धता जनाउँदै तत्काल मूल्य समायोजनको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय डिजेल, बिटुमिनलगायत निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा निर्माण उद्योग नै धराशायी हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ । महासंघका अनुसार मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले हालसम्म करिब १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको छ ।
विज्ञप्तिअनुसार मध्यपूर्वमा युद्ध सुरु हुनुअघि फेब्रुअरी १५ मा प्रतिलिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य हाल २२५ रुपैयाँ पुगेको छ । त्यस्तै बिटुमिनको मूल्य प्रतिकेजी ७५ रुपैयाँबाट बढेर १५५ रुपैयाँ पुगेको जनाइएको छ ।
महासंघले निर्माण उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीलाई रोजगारी दिइरहेको र सरकारी पूँजीगत बजेटको झण्डै ८० प्रतिशत खर्च यही क्षेत्रमार्फत हुने भएकाले निर्माण उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको जनाएको छ । तर इन्धन, ढुवानी, श्रमिक लागत र निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धिले सप्लाई चेन अवरुद्ध भई देशभरका निर्माण आयोजना प्रभावित बनेको महासंघको भनाइ छ ।
निर्माण व्यवसायी महासंघले सबै प्रकारका ठेक्कामा मूल्य समायोजन लागू गर्न पटक–पटक सरकारलाई आग्रह गरे पनि समस्या समाधान नभएको गुनासो गरेको छ । छिमेकी भारतले समेत मूल्यवृद्धिको अनुपातमा निर्माण क्षेत्रमा मूल्य समायोजन गरिरहेको अवस्थामा नेपालमा भने व्यवसायीलाई राहत नदिइएको महासंघले उल्लेख गरेको छ ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ५५ अनुसार मूल्यवृद्धिको अवस्थामा अनिवार्य रूपमा मूल्य समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै महासंघले सबै अवधिका ठेक्कामा मूल्य समायोजन लागू गर्न माग गरेको छ ।
महासंघले तत्काल मूल्य समायोजनसम्बन्धी स्पष्ट मार्गनिर्देशन वा परिपत्र जारी नगरे देशभर सञ्चालित निर्माण आयोजना बन्द हुने चेतावनी दिएको छ । निर्माण उद्योगलाई धराशायी हुनबाट जोगाउन र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र सरोकारवाला निकायले अविलम्ब हस्तक्षेप गर्नुपर्ने महासंघको माग छ ।















प्रतिक्रिया दिनुहोस्