काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले देशको समृद्धि र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका कृषकहरूको सम्मानलाई राज्यले नै उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । समारोहमा उनले श्रम गर्ने संस्कृतिको विकासमा जोड दिँदै कृषकहरू राष्ट्रका वास्तविक गहना भएको बताए । ‘किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ,’ राष्ट्रपति पौडेलले भने ।
राष्ट्रपति पौडेलले कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको साधन मात्र नभई राष्ट्र निर्माणको प्रमुख आधारशीलाका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । किसानको मेहनत, पसिना र समर्पणले नै देशको अर्थतन्त्र चलायमान बनेको स्मरण गराउँदै उनले कृषिलाई सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्न सके मात्र देश निर्माणको सपना साकार हुने विश्वास व्यक्त गरे । ‘यसको लागि श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्दछ, किसानको मेहनत, पसिना र समर्पणले नै देशको अर्थतन्त्र चलायमान बनेको छ’, राष्ट्रपति पौडेलले भने ।
राजनीतिक परिवर्तनपछि अब मुलुकको मुख्य आवश्यकता आर्थिक समृद्धि नै भएको उल्लेख गर्दै उनले कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार, सूचना प्रविधि र उद्योगधन्दाको विस्तार नै विकासका मुख्य आधार भएको उल्लेख गरे । बदलिँदो परिवेशमा युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सबैभन्दा ठुलो क्षेत्र कृषि नै भएको उनको भनाइ थियो । विशेष गरी वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले विदेशमा सिकेको सीप र अनुभवलाई नेपालकै माटोमा प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्ने उनले औँल्याए । यसका लागि सरकार र निजी क्षेत्रले सहकार्य गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने र युवा उद्यम केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उनको जोड छ।
यसैगरी, सोह्रौँ योजनाले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न राज्यले कृषि क्षेत्रका विद्यमान समस्या र चुनौतीहरूको बेलैमा पहिचान गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ। उनले कृषकका समस्या समाधानका लागि राज्यले तत्काल उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउन सस्तो ब्याजदरमा कृषि कर्जाको व्यवस्था, कृषकका लागि सही समयमा गुणस्तरीय बीउबिजन र मलको सुनिश्चितता, कृषकको उत्पादनको उचित मूल्य र बजार व्यवस्थापनका साथै नवीनतम औजार तथा उपकरणको उपलब्धता तथा प्राकृतिक प्रकोप वा अन्य क्षतिबाट किसानलाई जोगाउन प्रभावकारी कृषि बीमाको व्यवस्था गर्नुपर्ने बताए।
सोही विशेष समारोहका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले देशका विभिन्न भागबाट छनोट भएका १४ जना उत्कृष्ट कृषकहरूलाई जनही दुई लाख रुपैयाँ नगद राशि र प्रमाणपत्रसहित ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरी सम्मानित गरेका छन् । यो पुरस्कार कार्यक्रमले कृषि पेसालाई समाजमा एक सम्मानित र मर्यादित पेसाका रूपमा स्थापित गर्न ठुलो योगदान पुर्याएको राष्ट्रपतिको विश्वास छ ।
















प्रतिक्रिया दिनुहोस्