काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको दायरामा समेट्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई नागरिकको भरपर्दो सुरक्षा नेट बनाउन यसको व्यापक पुनर्संरचना गरिने घोषणा गरेका हुन् । संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री वाग्लेले यस कार्यक्रमका लागि मात्रै १५ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो, जुन चालु आर्थिक वर्षको तुलनामा ५ अर्ब बढी हो ।
हाल विभिन्न निकाय र कार्यक्रममार्फत छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरू र स्वास्थ्य सम्बन्धी सरकारी दायित्वहरूलाई अब एकीकृत गरिने बजेटमा उल्लेख छ । अर्थमन्त्री वाग्लेले भने, ‘ छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै आगामी आर्थिक वर्षदेखि एकल भुक्तानी विधि अपनाइनेछ ।’
सरकारले स्वास्थ्य बीमाको सर्वव्यापीकरण गर्ने नीति लिएको छ। यो व्यवस्था पूर्ण रूपमा लागू भएपछि आम नागरिकले उपचारका लागि आफ्नो खल्तीबाट गर्नुपर्ने खर्चमा उल्लेखनीय कटौती हुने सरकारको अपेक्षा छ । ‘स्वास्थ्य बीमाको सर्वव्यापीकरण विधिबाट आगामी तीन वर्षमा ९० प्रतिशत नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याइनेछ, जसले गर्दा व्यक्तिगत उपचार खर्चमा ठुलो गिरावट आउनेछ,’ अर्थमन्त्री वाग्लेले बजेट वक्तव्यका क्रममा भने ।
यसका साथै सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रतर्फ कुल १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ, जसमा ट्रमा केयर नीति, आकस्मिक स्वास्थ्य उपचार र स्वास्थ्य बीमाको सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

















प्रतिक्रिया दिनुहोस्