काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छन्। ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा शनिबार सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने व्यक्तिलाई आजैदेखि त्यसको लत छोड्ने सङ्कल्प गर्न आह्वान गरेकी हुन्।
मेहताले सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन भए पनि दृढ इच्छाशक्ति, परिवारको साथ र स्वास्थ्यकर्मीको उचित परामर्शबाट त्यसलाई पूर्ण रूपमा त्याग्न सकिने बताएकी छन्। उनले भेप, हुक्का तथा अन्य निकोटिनयुक्त उत्पादन आधुनिक र आकर्षक देखिए पनि स्वास्थ्यका लागि हानिकारक भएकाले त्यसको प्रयोग र प्रलोभनबाट टाढा रहन आग्रह गरेकी छन्।
उनका अनुसार इ–सिगरेट, भेप र हुक्कामा परम्परागत सुर्तीजन्य पदार्थमा जस्तै हानिकारक निकोटिन तथा विषाक्त तत्व हुने भएकाले ती सुरक्षित विकल्प हुन् भन्ने भ्रममा पर्नु हुँदैन। सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहने व्यक्तिलाई मन्त्रालयले आवश्यक सहयोग र परामर्श उपलब्ध गराउने व्यवस्था रहेको पनि उनले उल्लेख गरेकी छन्।
मेहताले नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको बताएकी छन्। पछिल्लो तथ्याङ्कअनुसार नेपालमा करिब २९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् भने प्रत्येक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु यसकै कारण हुने गरेको उनले उल्लेख गरेकी छन्।
उनले किशोरकिशोरीलाई लक्षित गर्दै सुर्ती उद्योगले अपनाइरहेका नयाँ रणनीतिप्रति पनि चिन्ता व्यक्त गरेकी छन्। विभिन्न स्वादमा उपलब्ध हुने, आकर्षक तथा आधुनिक देखिने सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण प्रचारप्रसार भइरहेको भन्दै उनले यसले समस्या झन् जटिल बनाएको बताएकी छन्।
सुर्तीजन्य पदार्थका कारण उत्पन्न चुनौतीको सामना गर्न सरकारले नियन्त्रण तथा नियमनसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएको पनि उनले स्पष्ट पारेकी छन्।
नेपालमा यस वर्ष ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँस कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदैछ।

















प्रतिक्रिया दिनुहोस्