काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले सुस्त रहेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउने र निजी क्षेत्रको मनोबल बढाउने आधार तयार गरेको जनाएको छ।
आइतबार सिबिफिनले जारी गरेको प्रेस विज्ञप्तिमा बजेटमार्फत अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलहरूको स्वागत गरिएको छ । विगत केही समयदेखि निजी क्षेत्रमा देखिएको कमजोर आत्मविश्वास, लगानीकर्तामा रहेको ‘पर्ख र हेर’ को प्रवृत्ति तथा बैंकिङ क्षेत्रमा अपेक्षित कर्जा विस्तार हुन नसकेको अवस्थाका बीच आएको बजेटले आशा र विश्वासको नयाँ आधार सिर्जना गरेको परिसंघको भनाइ छ ।
बैंकिङ क्षेत्रको ठूलो चुनौतीका रूपमा रहेको खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको कुशल व्यवस्थापनका लागि विशेष अधिकारयुक्त ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गर्ने सरकारको घोषणालाई सिबिफिनले दूरदर्शी र समयसापेक्ष कदम भन्दै विशेष स्वागत गरेको छ । कर प्रणालीमा सुधारस् व्यक्तिगत आयकर छुटको सीमा वृद्धि र करका दरहरूमा गरिएको पुनरावलोकन ।
औद्योगिक कच्चा पदार्थ आयातमा भन्सार सहजीकरण तथा उद्योग–व्यवसायलाई दिइएका सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, ऊर्जा क्षेत्रको विकास र प्रविधि एवं पूर्वाधारलाई दिइएको प्राथमिकता, वैकल्पिक वित्तीय उपकरणमार्फत पुँजी परिचालन गर्ने व्यवस्थालगायतका व्यवस्थाहरूले आन्तरिक तथा बाह्य लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्दै मुलुकलाई उच्च आर्थिक आत्मविश्वासतर्फ अग्रसर गराउने विश्वास सिबिफिनले व्यक्त गरेको छ ।
बजेटमा समेटिएका जनमुखी र विकासमुखी कार्यक्रमहरूको प्रभावकारी एवं परिणाममुखी कार्यान्वयनका लागि नीतिगत स्थायित्व कायम गर्न र निजी क्षेत्रसँगको सहकार्यलाई केन्द्रविन्दुमा राख्न सिबिफिनले सरकारसँग माग गरेको छ । साथै, वित्तीय क्षेत्रको स्थायित्व, लगानी विस्तार र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारसँग अभिन्न सहयोगीको रूपमा सहकार्य गर्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत परिसंघले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्