काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने प्रतिष्ठित नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२६ अन्तर्गत वित्तीय सेवा क्षेत्रको गोल्ड अवार्डबाट सम्मानित भएको छ।
योसँगै बैंकले लगातार तेस्रो वर्ष उक्त अवार्ड जित्न सफल भएको हो। यसअघि बैंकले बीपीए अवार्ड–२०२३ मा सिल्भर अवार्ड, बीपीए अवार्ड–२०२४ मा गोल्ड अवार्ड र बीपीए अवार्ड–२०२५ मा पुनः गोल्ड अवार्ड प्राप्त गरेको थियो। बैंकको वार्षिक प्रतिवेदन दक्षिण एसियाको प्रतिष्ठित साफा अवार्डबाट समेत निरन्तर सम्मानित हुँदै आएको छ।
आईक्यानले बैंकको वार्षिक प्रतिवेदनमा वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतिको उच्च स्तरलाई मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरेको जनाएको छ। बीपीए अवार्डको उद्देश्य संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता तथा उत्कृष्ट प्रस्तुतीकरणलाई प्रोत्साहन गर्नु हो।
काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष समारोहमा आईक्यानका अध्यक्ष निलबहादुर सारुले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई अवार्ड हस्तान्तरण गरेका थिए।
बैंकले उक्त सम्मानले वित्तीय पारदर्शिता, सुशासन तथा उत्तरदायी वित्तीय अभ्यासप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ। साथै आगामी दिनमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुरूप गुणस्तरीय, विश्वसनीय र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै सरोकारवालालाई समयानुकूल तथा यथार्थपरक वित्तीय सूचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्