काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब रुपैयाँ प्रिमियम आर्जन गरेको छ।
कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार उक्त उपलब्धिले कम्पनीको दिगो व्यवसायिक वृद्धि, सुशासनप्रतिको प्रतिबद्धता, ग्राहकको विश्वास तथा सरोकारवालासँगको सुदृढ सम्बन्धलाई थप मजबुत बनाएको छ।
कम्पनीले यो उपलब्धिलाई आफ्ना ग्राहक, अभिकर्ता, पुनर्बीमक, व्यवसायिक साझेदार, बैंक तथा वित्तीय संस्था, नियामक निकाय, शेयरधनी, सञ्चालक समिति तथा कर्मचारीहरूको निरन्तर विश्वास, सहयोग र साझा प्रयासको प्रतिफलका रूपमा लिएको जनाएको छ।
यस अवसरमा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले ५ अर्ब रुपैयाँ प्रिमियम आर्जन गर्नु सम्पूर्ण हिमालयन एभरेष्ट इन्स्योरेन्स परिवारको सामूहिक प्रतिबद्धता, ग्राहकहरूको अटल विश्वास तथा व्यवसायिक साझेदारहरूको निरन्तर सहयोगको परिणाम भएको बताइन्। उनले भनिन्, ‘यस उपलब्धिले कम्पनीलाई अझ उत्तरदायी, नवप्रवर्तनमुखी तथा ग्राहककेन्द्रित बीमा सेवा प्रदान गर्दै दिगो व्यवसायिक वृद्धिको यात्रालाई थप सशक्त रूपमा अगाडि बढाउन प्रेरित गरेको छ।’
श्रेष्ठका अनुसार कम्पनीले पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिको प्रभावकारी उपयोग, ग्राहक अनुभवमा निरन्तर सुधार, दाबी व्यवस्थापन तथा भुक्तानी प्रक्रियालाई छिटो, सरल र प्रभावकारी बनाउने प्रयाससँगै सुदृढ जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै नेपाली बीमा बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ।
कम्पनीले आगामी दिनमा डिजिटल रूपान्तरण, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक अभ्यासलाई प्राथमिकतामा राख्दै अझ उच्च व्यवसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, बीमा पहुँच विस्तार गर्दै ग्राहक, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने रणनीतिलाई निरन्तर अघि बढाउने जनाएको छ।















प्रतिक्रिया दिनुहोस्