काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत ब्रोन्ज अवार्ड प्राप्त गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा प्रदान गरिएको उक्त पुरस्कार कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले हालै विशेष समारोहबीच संयुक्त रूपमा ग्रहण गरेका हुन्।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताको मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
कम्पनीका अनुसार यस पुरस्कारले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत अभ्यासका रूपमा निरन्तर आत्मसात् गर्दै आएको पुष्टि गरेको छ।
पुरस्कार ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत पवन खड्काले यो सम्मान सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गौरवको विषय भएको बताए। उनले वित्तीय पारदर्शिता, सुशासन तथा उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउने जिम्मेवारी थपिएको उल्लेख गर्दै कम्पनीप्रति विश्वास गर्ने बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।
कम्पनीले यसै वर्ष वित्तीय स्थायित्व, सुदृढ बजार अवस्था तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा केयर रेटिङ नेपाल बाट ‘ए माइनस’ कर्जा मूल्याङ्कन प्राप्त गरेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्