काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोरअन्तर्गत मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनमा आगामी असार २३ गतेदेखि विद्युत् परीक्षण सेवा सुरु गर्ने भएको छ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै तनहुँको मार्कीचोकस्थित न्यू मस्र्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरी परीक्षण गरिने जनाएको छ।
युरोपियन बैंकको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर खण्डको निर्माण सम्पन्न भएपछि परीक्षण प्रक्रिया सुरु गर्न लागिएको हो।
आयोजना प्रमुख नारायण रेग्मीका अनुसार राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्ने उद्देश्यले उक्त खण्डमा विद्युत् प्रवाह गरी परीक्षण गरिनेछ। प्राधिकरणले परीक्षण अवधिमा प्रसारण लाइन तथा सम्बन्धित संरचना उच्च जोखिमयुक्त हुने भएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। टावरमा नचढ्न, कुनै वस्तुले नछुन, टावर वरपर अनावश्यक रूपमा नजान तथा चौपायालाई टावर नजिक चराउन वा छोड्न नदिन अनुरोध गरिएको छ।
प्रसारण लाइन तनहुँ, गोरखा र चितवनका विभिन्न क्षेत्र हुँदै गएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ३, ४ र ५, गोरखा नगरपालिका–१४ याङ्कोट तथा चितवनको भरतपुर महानगरपालिका–२९ र इच्छाकामना गाउँपालिका–६ का केही क्षेत्र प्रसारण लाइनको प्रभाव क्षेत्रमा पर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनी ले निर्माणको जिम्मा लिएको उक्त प्रसारण लाइनको मार्कीचोक–भरतपुर खण्डको निर्माण समयमै सम्पन्न भएपछि परीक्षण चरणमा प्रवेश गरिएको हो।















प्रतिक्रिया दिनुहोस्