Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदै : मन्त्री बादी

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदै : मन्त्री बादी
विज्ञापन
Advertisement

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भइसकेको बताएकी छन्।

विज्ञापन
Advertisement
Advertisement

बुधबार राष्ट्रिय सभाको बैठकमा ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण तथा महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने’ सम्बन्धी सङ्कल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले सरकारले समसामयिक आवश्यकता अनुसार कानुनी सुधार प्रक्रिया अघि बढाएको जानकारी दिइन्।

उनले नेपाल प्रहरीको साइबर ब्युरोमा हालसम्म १२ हजार ४१० उजुरी परेको उल्लेख गर्दै डिजिटल माध्यमबाट हुने लैङ्गिक हिंसा गम्भीर चुनौतीका रूपमा देखिएको बताइन्। मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि आवश्यक पहल गरिरहेको पनि उनले बताइन्।

यसअघि राष्ट्रिय सभा सदस्य रेनु चन्दले प्रविधिको प्रयोगबाट हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण तथा पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी र संस्थागत व्यवस्था गर्नुपर्ने मागसहित सङ्कल्प प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

छलफलका क्रममा सांसदहरूले सूचना प्रविधिको तीव्र विस्तारसँगै महिला तथा किशोरीमाथि हुने साइबर हिंसा बढ्दै गएको भन्दै प्रभावकारी कानुनी व्यवस्था, साइबर ब्युरोको सेवा सातै प्रदेशमा विस्तार, पीडितको संरक्षण र पुनःस्थापनामा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

सांसदहरूले नेपाल प्रहरीको साइबर ब्युरोमा डिजिटल माध्यमबाट हुने अपराधसम्बन्धी उजुरी र मुद्दा वर्षेनी बढ्दै गएको उल्लेख गर्दै साइबर हिंसा नियन्त्रणका लागि कानुन र कार्यान्वयन दुवैलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit