काठमाडौं । स्थानीय तह निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्।
निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यसहित आयोगले आज आयोजना गरेको छलफलमा सत्तारूढदेखि प्रमुख प्रतिपक्षी दलका नेताहरूसमेत सहभागी भएका हुन्।छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरू सहभागी हुन आयोग पुगेका छन्।
आयोगमा हुने छलफलमा आगामी स्थानीय तह निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा राजनीतिक दलहरूको धारणा, सुझाव र अपेक्षाबारे विचारविमर्श हुने बताइएको छ। विशेषगरी प्रदेश सभा र स्थानीय तहको एकैपट निर्वाचन गराउने विषयबारे छलफल हुनेछ । पछिल्लो समय खर्च कटौतीको लागि एकैपटक स्थानीय र प्रदेश सरकारको निर्वाचन गराउनुपर्ने आवाज उठ्दै आएको छ।निर्वाचनको तयारी, निर्वाचन कार्यतालिका, कानुनी तथा प्राविधिक जटिलता र निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउने उपायहरू छलफलका प्रमुख विषय छन्। त्यस्तै, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल केन्द्रित रहनेछ।
स्थानीय तह निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाको महत्वपूर्ण आधार भएकाले यसको तयारी समयमै अघि बढाउने, निर्वाचन प्रक्रियामा देखिन सक्ने चुनौती पहिचान गर्ने र दलहरूबीच साझा समझदारी निर्माण गर्ने उद्देश्यले आयोगले शीर्ष नेताहरूसँग छलफल गर्न लागेको हो।यस छलफललाई निर्वाचन आयोग र राजनीतिक दलहरूबीच निर्वाचनसम्बन्धी विषयमा साझा धारणा निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।















प्रतिक्रिया दिनुहोस्