सिद्धार्थनगर (भैरहवा)। अन्तरराष्ट्रिय सीमानाका बेलहियामा ट्राफिक, पार्किङ, यात्रु आवागमन, मालवाहक सवारी व्यवस्थापन तथा सुरक्षा प्रबन्ध सुधार गर्न प्रशासनले पहल थालेको छ। भारतीय सवारीसाधनको जथाभावी पार्किङ र भारतीय नम्बर प्लेटका ट्याक्सीले नेपालभित्र यात्रु ओसारपसार गरिरहेका गुनासो बढेपछि व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रसाद अर्यालले स्थानीय बासिन्दा, व्यवसायी, सरकारी निकाय तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा भारतीय पक्षसँग समन्वय गरेर बेलहियाको समस्या समाधान गरिने बताए। उनका अनुसार स्थानीय प्रहरी प्रशासनले एक महिनाभित्र भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग छलफल गर्नेछ। त्यसबाट समाधान नभए प्रमुख जिल्ला अधिकारीको तहबाट भारतीय समकक्षीसँग वार्ता गरी जनताको मागअनुसार समस्या समाधान गर्ने पहल गरिनेछ।
भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिँदै आईसीपी सञ्चालनमा आएपछि पार्किङ व्यवस्थापन सहज भई हाल देखिएका अधिकांश समस्या समाधान हुने विश्वास व्यक्त गरे। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले ट्राफिक र पार्किङ व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा संयन्त्र थप सक्रिय बनाइने बताए। सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर सुशील पौडेलले भारततर्फ सडक विस्तारको काम सम्पन्न भएपछि ट्राफिक व्यवस्थापनमा सुधार आउने उल्लेख गर्दै जथाभावी सवारी रोक्न रोक लगाउनुपर्नेमा जोड दिए।
स्थानीय प्रहरीका अनुसार बेलहिया नाकाबाट दैनिक करिब पाँच हजार व्यक्ति आवतजावत गर्ने गरेका छन्। साथै, दैनिक ३०० देखि ५०० भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी, २५ देखि ३० यात्रुवाहक बस तथा १०० देखि १५० मालवाहक ट्रक सीमा पार गर्ने गरेका छन्।















प्रतिक्रिया दिनुहोस्