काठमाडौं। कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हवाई उडान सञ्चालनका क्रममा देखिएका समस्या समाधान गरी सेवा प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच छलफल भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’को उपस्थितिमा भएको छलफलमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दै आएका निजी वायुसेवा सञ्चालकबीच आज छलफल भएको हो ।
सो बैठकमा कर्णालीका दुर्गम तथा पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दा देखिएका व्यावहारिक कठिनाइ, सेवा प्रवाहमा रहेका अवरोध र तिनको समाधानका सम्भावित उपायबारे छलफल भएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ।

कर्णालीका दुर्गम क्षेत्रमा हवाई सेवा यातायातको महत्त्वपूर्ण माध्यमका रूपमा रहेको अवस्थामा उडानलाई नियमित, सुरक्षित र प्रभावकारी बनाउन सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको विषयमा छलफल केन्द्रित भएको उल्लेख छ। हवाई सेवामा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले भएको छलफलले कर्णालीका पहाडी तथा दुर्गम क्षेत्रका नागरिकको हवाई यातायातमा पहुँच सहज बनाउने र सेवा सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्