काठमाडौं । नेपालको अग्रणी निजी क्षेत्रको वित्तीय संस्था नबिल बैंक लिमिटेडले स्थापनाको ४२औँ वर्ष पूरा गरी ४३औँ वर्षमा प्रवेश गरेको छ।
आधुनिक प्रविधिमा आधारित बैंकिङ सेवाको सुरुआत गर्दै आएको बैंकले ४२औँ वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।
वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले नबिल बैंकको ४२ वर्षे यात्राको मुख्य आधार ‘विश्वास’ रहेको बताए। उनले ग्राहक, शेयरधनी, नियामक निकाय, साझेदार तथा कर्मचारीहरूको निरन्तर साथ र विश्वास नै बैंकको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गरे। उनले विगत चार दशकमा नेपालको आर्थिक तथा औद्योगिक क्षेत्रमा आएको परिवर्तनसँगै नबिल बैंकले पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताए। बैंकले आधुनिक बैंकिङको जग बसाल्नुका साथै डिजिटल बैंकिङमार्फत ग्राहकको अनुभवलाई परिवर्तन गरेको चौधरीको भनाइ छ।
अध्यक्ष चौधरीका अनुसार नबिल बैंकले ‘एनबैंक’ एपमार्फत डिजिटल बैंकिङ क्षेत्रमा नयाँ पहिचान बनाएको छ। बैंकले वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको समग्र वित्तीय इकोसिस्टम विकास गरेको उनको भनाइ छ।
अध्यक्ष चौधरीले अबको बैंकिङ यात्रा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रित हुने बताए। एआईले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालन र ग्राहक सेवामा ठूलो परिवर्तन ल्याइरहेको भन्दै उनले नबिल बैंक यस परिवर्तनको नेतृत्व गर्न तयार रहेको बताए। उनले भने, ‘एनबैंकको आगामी विकासमा एआईलाई केन्द्रविन्दुमा राखिनेछ। यसले बैंकिङ सेवालाई अझ स्मार्ट र व्यक्तिगत बनाउनेछ।’
बैंकिङ केवल वित्तीय कारोबार नभई मानिसका सपना, उद्यमशीलता र आर्थिक समृद्धिसँग जोडिएको क्षेत्र भएको उनको भनाइ थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले बैंक ग्राहकको भरोसायोग्य साझेदार भएको बताए । उनले भने, ‘हामी केवल बैंकिङ सेवा दिने संस्था होइनौँ, ग्राहकका सपना, सम्भावना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार हौँ।’
सन् १९८४ मा नेपालकै पहिलो प्रविधिमैत्री निजी क्षेत्रको बैंकका रूपमा सुरु भएको नबिल बैंक आज लाखौँ ग्राहकको विश्वास र हजारौँ कर्मचारीको योगदानका कारण बलियो संस्थाका रूपमा स्थापित भएको ज्ञवालीको भनाइ छ।
बैंकका अनुसार हालसम्म कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु, घरेलु, साना तथा मझौला उद्योग क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ र पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी भएको छ। आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ रहेको बैंकको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा खुद नाफा १० लाख रुपैयाँबाट बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।
त्यस्तै, प्रारम्भिक चरणमा १४ करोड ६० लाख रुपैयाँ रहेको निक्षेप संकलन बढेर ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १३ करोड ३० लाख रुपैयाँबाट बढेर ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति पनि २६ करोड ९० लाख रुपैयाँबाट बढेर ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
४२औँ वार्षिकोत्सवको अवसरमा नबिल बैंकले ग्राहक लक्षित विभिन्न योजना तथा अफर सार्वजनिक गरेको छ। बैंकले ४२ दिनसम्म विशेष प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। हेटौँडा र वीरगञ्ज क्षेत्रमा सडक विस्तारका कारण प्रभावित ग्राहकका लागि ‘पुनःनिर्माण घर कर्जा योजना’ ल्याएको बैंकले जनाएको छ। यस योजनाअन्तर्गत प्रभावित ग्राहकले आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी सहुलियतपूर्ण कर्जा सुविधा पाउनेछन् ।
त्यस्तै, लकर सेक्युरिटी डिपोजिट, क्रेडिट कार्ड, डेबिट कार्ड तथा इलेक्ट्रोनिक पेमेन्ट गेटवे सेवामा विशेष छुट योजना ल्याइएको उल्लेख छ। लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट तथा ई–पेमेन्ट गेटवे सेवाको इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइने बैंकले जनाएको छ। साथै, क्रेडिट कार्ड आवेदन शुल्क तथा एक वर्षको सदस्यता शुल्कमा समेत छुट दिइने बैंकले जनाएको छ।
नबिल बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङ, नवप्रवर्तन र ग्राहक केन्द्रित सेवामार्फत नेपालको वित्तीय क्षेत्रमा आफ्नो नेतृत्वदायी भूमिका निरन्तर अघि बढाउने जनाएको छ। २ शाखा र १४४ कर्मचारीबाट सुरु भएको नबिल बैंकको सेवा सञ्जाल अहिले देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २ हजार ४६९ कर्मचारीसम्म विस्तार भएको छ बैंकले जनाएको छ। हाल बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ।














प्रतिक्रिया दिनुहोस्