काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा सोमबार वर्षा भइरहेको छ भने आज राति वर्षा थप तीव्र हुने मौसमविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानबाहेक अन्य अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। केही स्थानमा भारीदेखि अति भारी वर्षा भएको छ भने अन्य क्षेत्रमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार वर्षा गराउने मौसमी प्रणाली रातिको समयमा थप सक्रिय हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
पछिल्लो २४ घण्टामा मकवानपुरगढी र म्याग्दीमा समान १२१ मिलिमिटर वर्षा मापन भएको छ, जुन अति भारी वर्षाको श्रेणीमा पर्छ। त्यसैगरी सुनसरीमा ११७ मिलिमिटर र उदयपुरमा १०६ मिलिमिटर वर्षा भएको छ।
काठमाडौंको चन्द्रागिरि वर्षामापन केन्द्रमा ९३.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। त्यस्तै सिन्धुलीमा ९३, झापामा ८४, सङ्खुवासभामा ५२, ताप्लेजुङमा ६४, सोलुखुम्बुमा ५८, सिन्धुपाल्चोकमा ६८, चितवनमा ८४, नवलपुरमा ८५, नवलपरासी पश्चिममा ६९, पाल्पामा ९८, बाँकेमा ५७ र कैलालीमा ५७ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
हाल काठमाडौं, उदयपुर, लमजुङ, सिन्धुपाल्चोक, चितवन, खोटाङ, बागलुङ र पर्वतलगायत जिल्लामा वर्षा जारी छ।
मौसमविद् अर्यालका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भूभाग नजिक पुगेकाले वर्षा भइरहेको हो।
विभागले आज राति कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारीदेखि अति भारी वर्षा र बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। लगातारको वर्षाले नदी तथा खोलामा बहाव बढ्ने, पहिरो, डुबान र यातायात प्रभावित हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।















प्रतिक्रिया दिनुहोस्