काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा पार्किङ गरी राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ। रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा आज जारी विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा काम गर्ने वातावरणमाथि धावा बोल्ने तथा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै यसको संरक्षणका लागि रास्वपा सदैव प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता गतिविधिको पार्टीले भर्त्सना गरेको छ। रास्वपाले घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूको भौतिक र मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराएको छ। साथै, यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको पहिचान गरी कानुनी कारबाही गर्न माग गरिएको छ।
एक लोकतान्त्रिक, जिम्मेवार तथा विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलका रूपमा रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार तथा स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको विज्ञप्तिमा उल्लेख छ। पार्टीले कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रतामाथि अंकुश लगाउने, सञ्चारगृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई संकुचित पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।
‘स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु हो र यसको रक्षार्थ राष्ट्रिय स्वतन्त्र पार्टी सदैव कटिबद्ध छ। तसर्थ,प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,’ आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं।’
रास्वपाले सम्पूर्ण सञ्चार क्षेत्रलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको व्यावसायिक धर्म निर्वाह गर्न आग्रह गर्दै सञ्चारकर्मी तथा सञ्चारगृहहरूको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सदैव उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
सोमबार कान्तिपुर पब्लिकेसन, अनलाइन खबर र हिमालय टेलिभिजनको कार्यालय गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरेर छाडिएको थियो । साथै, कांग्रेस सभापति गगन कुमार थापाको निवास अगाडी समेत शंकास्पद रुपमा गाडी पार्किङ गरी छाडिएको थियो ।















प्रतिक्रिया दिनुहोस्