काठमाडौं। आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ।
सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौतामा रूपान्तरण गर्दै औपचारिकता प्रदान गर्ने तयारी भइरहेको बताइएको छ ।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरकारी वार्ता टोली र मिटरब्याज पीडित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता शुक्रबार सुरु भएको छ। वार्ताबाट दुवै पक्षबीच सहमति जुटे आजै सम्झौतापत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
यसअघि बिहीबार पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच छलफल भएको थियो। सोही छलफलका क्रममा भएका सहमति र समझदारीलाई आधार बनाएर शुक्रबार अन्तिम सम्झौताको तयारी गरिएको हो। सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन् । टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली तथा भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्य छन् ।
पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहेका छन् । टोलीका सदस्यहरूमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी रहेका छन् ।
लामो समयदेखि मिटरब्याज पीडितहरूले अनुचित लेनदेनबाट पीडित नागरिकलाई न्याय दिलाउन, दोषीमाथि कारबाही गर्न तथा पीडितको सम्पत्ति फिर्ता गराउन माग गर्दै आन्दोलन गरिरहेका छन्।















प्रतिक्रिया दिनुहोस्