काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन्। लामिछाने साउनको अन्तिम साता चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङ जाने तयारीमा छन्।
लामिछानेको चीन भ्रमण मुख्य रूपमा ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तारमा केन्द्रित हुने बताइएको छ। भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि लामिछानेले पहिलो पटक चीन भ्रमण गर्न लागेका हुन् । नयाँ सरकार गठनपछि छिमेकी मुलुकहरूसँग कूटनीतिक संवाद बढाउने प्रयासस्वरूप यो भ्रमण हुन लागेको बुझिएको छ। चीन भ्रमणमा लामिछानेसँग जाने प्रतिनिधिमण्डलका अन्य सदस्यको नाम भने सार्वजनिक गरिएको छैन ।
यसअघि रास्वपा सभापति लामिछानेले जेठ १८–२२ सम्म भारतको पाँच दिने भ्रमण गरेका थिए। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत पुगेका उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नवीनलगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए।
भारत भ्रमणकै शैलीमा चीन भ्रमणका क्रममा पनि लामिछानेले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने बुझिएको छ।















प्रतिक्रिया दिनुहोस्