काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लामा हालै घटेको संवेदनशील तथा दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र निष्पक्ष छानबिनको पक्षमा आफ्नो अडान दोहोर्याएको छ।
मंगलबार जारी विज्ञप्तिमा रास्वपाले घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते भएका सबै नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
पार्टीले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, सामाजिक सहिष्णुता, आपसी एकता र सद्भाव जोगाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। अफवाह र उत्तेजनाको पछि नलाग्न तथा सामाजिक र साम्प्रदायिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला पक्षलाई अपिल गरिएको छ।
रास्वपाले संवेदनशील परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न, आम नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा अवस्था सामान्य बनाउन नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण गरिरहेको जनाएको छ।
विज्ञप्तिमा घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गर्न, दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडितलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
पार्टीले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सकारात्मक भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ।
रास्वपाले उक्त घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बद्ध पक्षसँग आग्रह गरेको छ। साथै, पार्टीका स्थानीय समिति तथा सम्पूर्ण कार्यकर्ता र सदस्यलाई शान्ति र सामाजिक सद्भाव कायम राख्न सक्रिय र सहयोगी भूमिका निर्वाह गर्न निर्देशनसमेत दिएको छ।
















प्रतिक्रिया दिनुहोस्